मितिनीकै कारण हामी  एक–अर्काको भयौं है !

- प्रस्तुति : कृष्ण भट्टराई

माघ २८, २०७५

पहिलो चलचित्र ऐश्वर्यबाट रजतपटमा स्थापित हुन सफल अभिनेत्री हुन्– दीपिका प्रसाईं । दोस्रो चलचित्र छक्का पञ्जा–३ को अभिनयबाट दीपिकाले आफूमा भएको अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । दिवाकर भट्टराई युवा निर्देशक हुन् । जीवन साथी, स्टुपिड मन, ड्रिम्स तथा ऐश्वर्य जस्ता सफल चलचित्र निर्देशन गरेर निर्देशकका रूपमा आफ्नो अलग पहिचान स्थापित गरिसकेका भट्टराई अहिले भुवन केसीको चलचित्र ‘क्याप्टेन’ को निर्देशनमा व्यस्त छन् । दुई वर्षदेखि प्रेमि–प्रेमिकाका रूपमा रहेका दीपिका र दिवाकरको जोडीले केही महिनाअघि इन्गेज्मेन्ट गरेर कोर्ट म्यारिजसमेत गरिसकेका छन् ।

आगामी वैशाखमा धार्मिक परम्परा अनुसार विवाह गर्ने तयारी गरिरहेको यो जोडी गत सोमबार बिहान महादेवस्थान, कोटेश्वरस्थित रिंगो क्याफेमा ब्याक टि पिउँदै साप्ताहिकको भ्यालेन्टाइन दिवसको स्पेसल रिपोर्टका लागि गफिँदै थिए । कुराकानीका क्रममा दीपिका चलचित्रको काममा व्यस्त भएर दिवाकरले आफूलाई समय नदिएको गुनासो गर्दै थिइन् भने दिवाकर भने फागुन १७ पछिको सम्पूर्ण समय दीपिकाकै हो भनेर फकाइरहेका थिए । उनीहरूको कुराकानीको सम्पादित अंश :

दीपिका : तपाईंको त कति फोन आउने है ? अहिले पनि फोन मै हुनुहुन्छ । यो मोबाइल त हराए पनि हुन्थ्यो । 

दिवाकर : अस्ति भरखर एउटा मोबाइल हराएर दुई दिन आनन्द भएको थियो, चलचित्र क्याप्टेनको काम अन्तिम चरणमा पुगेको तिमीलाई थाहा छ नि, क्याप्टेन प्रदर्शन भएपछि यसरी फोन आउँदैन । 

दीपिका : एक वर्षभन्दा बढी भैसक्यो तपाईंले क्याप्टेन–क्याप्टेन भन्दै मलाई समय दिन छाडेको । यो चलचित्रपछि पनि तपाईंको व्यस्तता त उही नै हुने होला नि ? 

दिवाकर : त्यस्तो हुँदैन । यो त ठूलो ब्यानरको ठूलो चलचित्र हो नि । त्यसैले अलि बढी व्यस्त भएको हुँ । 

दीपिका : अनि अहिले यहाँ पनि मलाई कुराउनु भयो । मैले तपाईंलाई कुरुञ्जेल दुई कप ब्ल्याक टि पिइसकें । 

दिवाकर : ल बाबा, आई एम एक्स्टि्रम्ली सरी । अब चाहिँ तिमीले त्यसरी कुर्नु पर्दैन । अब हामी राम्रो, रमाइलो मायाको गफ गरौं । झगडा नगरौं, एक–अर्कालाई प्रेम गर्ने भएपछि आज हामी प्रेमकै बारेमा कुरा गरौं । 

दीपिका : हाम्रो विवाहको मिति नजिकिइसक्यो, तपाईंलाई त्यसको पनि मतलब छैन । 

दिवाकर : तिमी छँदैछौं नि सबै म्यानेज्मेन्ट गर्ने, मैले के नै गर्नुपर्छ र ? 

दीपिका : मैले मात्र गरेर सम्भव छ र ? सपिङ गर्न थाल्नु परेन, मानिसहरूलाई बोलाउनु परेन । सबै कुराको योजना बनाउनु परेन ? 

दिवाकर : सपिङका लागि अहिले समय छ । मानिसहरूलाई तिमीले बोलाइ हाल्छौं । बचेको काम म गरौंला नि । यी सबै काममा तिमी आफैं पर्फेक्ट भएकाले नै म काममा मात्र केन्द्रित भएको हुँ । साँच्ची हाम्रो विवाहको मिती कहिलेलाई जुरेको छ रे ? 

दीपिका : तपाईंले विवाहको मिति पनि बिर्सनु भयो हैन ? अब आउने वैशाखमा होइन त ? 

दिवाकर : वैशाखको अन्तिम साता विवाह गर्ने विषयमा तिम्रो परिवार तथा बुवा–आमाको भनाइ के छ ? केही महिनापछि सार्न मिल्दैन । 

दीपिका : हाम्रो विवाह वैशाखमै हुन्छ । 

दिवाकर : वैशाखमा मेरो अर्को चलचित्रको सुटिङ पर्छ जस्तो छ । असारमा पानी पर्ने भएकाले त्यो बेला सुटिङ गर्न गाह्रो हुन्छ । त्यसैले बुवालाई भनेर असारको साइत निकाल्न भन । 

दीपिका : अब वैशाखपछि मिति सर्दैन । वैशाखबाट पनि पछाडि धकेल्नु भयो भने तपाईंले कि चलचित्र कि बुढी, दुई मध्ये एक रोज्नुपर्छ । यो मेरो अन्तिम निर्णय हो । 

दिवाकर : ल ल...वैशाखमै गर्ने । मलाई एउटा कुरा भन त म जन्ती लिएर कहाँ आउनु पर्ने हो ? विवाहको पार्टी कहाँ दिने हो ? 

दीपिका : तपाईं जन्ती लिएर तपाईंको घर सिन्धुलीबाट मेरो घर धनगढी आउने हो । हाम्रो विवाहको पहिलो पार्टी धनगढी मै हुनेछ । 

दिवाकर : यति लामो बाटो जन्ती ? मेरो त ह्वाट नै लाग्ने भयो ? 

दीपिका : मेरो कुरा सकिएको छैन...सिन्धुलीमा म भित्रिएपछि दोस्रो पार्टी त्यहीँ हुनेछ । त्यसपछि हामी काठमाडौं आएर अझ भव्य पार्टि दिनुपर्छ । बुझ्नु भयो नि ? 

दिवाकर : तीन–तीनवटा पार्टि दिन जरुरी छ र ? त्यो पार्टीको खर्चले त एउटा फिल्म नै बनाउन पुग्छ । 

दीपिका : विवाह भनेको जीवनमा एक पटक गर्ने हो । एक पटक गरिने विवाह अनि त्यसको पार्टि त दिनै पर्यो नि । तपाईंले दु:ख गरेर कमाउनु भएको हाम्रै विवाहका लागि होइन र ? 

दिवाकर : विवाह गर्नु त निकै गाह्रो काम पो होला जस्तो छ, फिल्म बनाउनुभन्दा पनि गाह्रो । अनि तिमीले त सपिङ थालिसकेको भन्थ्यौ त, हैन ? 

दीपिका : मैले केही गरेकी छैन । म त तपाईंको समयको पर्खाइमा छु । तपाईंले जहिले समय दिनु हुन्छ, त्यही दिनदेखि विवाहको तयारी थाल्ने भनेर बसेकी छु । 

दिवाकर : तिमीलाई मेरो सबै च्वाइस थाहा छँदैछ, आफ्नै तरिकाले सपिङ गर्न थाले भयो नि । 

दीपिका : सुटको मेजरमेन्ट दिन जाउँ, अरु पहिरनको पनि मेजरमेन्ट गराउँ भनेर धेरै पटक भनिसकें । मेरा लागि त तपाईंसँग समय नै छैन । सबै कुरा विवाहको एक हप्ता अगाडि गर्ने भनेर बस्नु भएजस्तो पो लाग्न थालेको छ । मलाई त कस्तो रिस उठेर आइसक्यो भने । 

दिवाकर : तिमीलाई थाहा छ नि म काम भनेपछि कति गम्भीर हुन्छु ? तिमीलाई मेरो काम गर्ने स्टाइल त थाहा छँदैछ । 

दीपिका : पर्सनल र प्रोफेसनल लाइफलाई अलिकति फरक त बनाउन मिल्छ नि ? चौबिसै घण्टा काम–काम त कसैले पनि भन्दैन है । बरु चलचित्र ‘ऐश्वर्य’ का बेला तपाईंसँग मेरा लागि अलि बढी समय थियो । शायद त्यतिबेला मलाई इम्प्रेस गर्न पो थियो कि ? 

दिवाकर : अलि–अलि त त्यो पनि हो । अर्को कुरा ऐश्वर्यको तिमी अभिनेत्री, म निर्देशक । त्यतिबेला हामी सँगै थियौं, त्यसैले तिमीलाई त्यस्तो लागेको हो । 

दीपिका : त्यसो भए मलाई आफ्नो बनाइसकेपछि चाहिं मेरो वास्ता छैन होइन ? 

दिवाकर : त्यस्तो होइन । त्यो चलचित्रमा हामी सँगै थियौं, सँगै हुँदा तिमीलाई मेरो अभाव महसुस भएको थिएन । फेरी हामी नयाँ–नयाँ प्रेममा पनि थियौं । क्याप्टेनमा तिमी छैनौं, म त्यही चलचित्रको काममा बढी व्यस्त छु । त्यसैले तिमीलाई म टाढा भएको हुँ कि भन्ने लागेको हो । वास्तवमा म सधैं तिम्रै वरिपरि हुन्छु । म सधैंका लागि तिम्रो भैसकेको छु । अबदेखि मेरो धेरैभन्दा धेरै समय तिम्रै लागि हुनेछ, प्रमिस । 

दीपिका : अर्को चलचित्रमा व्यस्त भएपछि तपाईंले मेरो अझ बढी केयर गर्नुपर्ने, बेला–बेलामा फोन गरेर अथवा टेक्स्ट गरेर भए पनि खाना खाएकी छौ कि छैनौ ? कुनै कुराको समस्या छ कि ? भनेर चासो दिनुपर्ने होइन र ? मलाई आफ्नो बनाउने बेला तपाईं यस्तो हुनुहुन्न थियो त यार ? 

दिवाकर : अब रिसाउन छोड बुढी । आउ केही मीठा बात गरौं । 

दीपिका : अब म रिसाउने होइन, कम्प्लिट्ली साइलेन्स बस्छु । त्यति गर्दा पनि समय दिन थाल्नु भएन भने म तपाईंलाई नै इग्नोर गर्न थाल्छु । 

दिवाकर : त्यसो नभन न प्लिज । म आजैदेखि काम र प्रेमलाई उत्तिकै समय दिन्छु । 

दीपिका : पहिले हामी कत्ति रोमान्टिक थियौं, सम्झनु त । तपाईं क्याप्टेनमा व्यस्त हुनुभन्दा अघि हामी हप्तामा दुई–तीन पटक सँगै डिनर गर्न बाहिर जान्थ्यौं । तपाईंले मलाई कत्ति सपिङ गरिदिनु हुन्थ्यो । हामी सँगै फिल्म हेर्न मात्र होइन क्लब गएर डान्स गर्न समेत भ्याउँथ्यौं । प्रेमी–प्रेमिकाका रूपमा छँदै तपाईंले मलाई धेरै माया गर्नु हुन्थ्यो, बुझ्नु हुन्थ्यो, कति मिठो बोल्नु हुन्थ्यो, कति फकाउनु हुन्थ्यो, अहिले त तपाईंलाई काम बाहेक अर्को कुरा याद पनि हुँदैन । 

दिवाकर : त्यसो नभन न यार । तिमीले त्यस्तो निराशावादी कुरा गर्‍यौ भने त बर्वादै हुन्छ नि । म आजैको दिनदेखि आफ्नो दैनिकी सुधार्छु । तिमीले पनि मलाई गम्भिर भएर आजसम्म यसरी सम्झाएकी थिइनौ, अब भने म काम र तिमीलाई बराबर महत्व दिन्छु । 

दीपिका : द्याट्स लाइक माई लभर... बल्ल म फ्रेस भएँ । तपाईंलाई याद छ हाम्रो पहिलो भेट कसरी भएको थियो ? 

दिवाकर : किन याद नहुनु । तिमीसँग भेट हुनुभन्दा पहिले म तिम्रो एउटा तस्बिरको फ्यान भएको थिएँ । ऐश्वर्याका लागि तिमीले पठाएको तस्बिर हेर्ने बित्तिकै म तिम्रो फ्यान भएको थिएँ । त्यही चलचित्रका लागि कुराकानी गर्न तिमी र म पहिलो पटक नयाँ वानेश्वरको एउटा क्याफेमा भेटेका होइन ? 

दीपिका : हो, बेकरी क्याफेको अपोजिटमा । त्यतिबेला पानी परिरहेको थियो, हामीले पहिलो भेटमा सँगै चिया पिएका थियौं । 

दिवाकर : ओहो, तिम्रो त्यो बेलाको एट्टीच्यूट त मान्नै पर्छ है ? 

दीपिका : अब को–हो, को–हो । जिन्दगी देखेको छैन, बोलेको छैन । पहिलो भेटमै म तपाईंसँग कसरी खुल्न सक्थें त ? त्यति इजी गोइङ पनि हुनु भएन नि ? 

दिवाकर : कति कल गरेको थिएँ, म्यासेस गरेको थिएँ, तर तिमीले ती सबैलाई इग्नोर गरेको याद छ ? वास्तवमा तिम्रो त्यो पहिलो तस्बिर नै मेरो मनमा बसेको थियो । 

दीपिका : मैले त त्यो फोटोलाई चलचित्रका लागि पो पठाएकी थिएँ, तपाईंलाई मनमा राख्न कसले भन्यो ? 

दिवाकर : मैले पनि त्यो फोटो पहिले त अभिनेत्रीकै नजरले हेरेको थिएँ । तर, जब तिमीलाई वास्तविक रुपमै देखें, मैले अभिनेत्री कम मेरो जीवनसाथी बढि देख्न थालें । पहिलो भेटमै मैले सपनामा देखेकी मेरो घरकी गृहलक्ष्मी तथा मेरी श्रीमती तिमी मै देख्न पुगेंछु । 

दीपिका : भन्नाले तपाईंले मेरो सुन्दरतालाई मात्र हेर्नु भएको थियो ? 

दिवाकर : सुन्दरतालाई  मात्र होइन, म तिम्रो व्यवहार, शालिनता, बोल्ने शैली, सम्मान गर्ने शैली आदि कुराले समेत प्रभावित भएको हुँ । एउटा निर्देशकलाई भेट्न आउँदा तिमी हाइफाइ भएर, मोर्डन ड्ेरसमा आउँछौं भन्ने लागेको थियो, तर तिमी त अति नै सामान्य रूपमा औपचारिक पहिरनमा आएकी थियौ । मलाई तिम्रो सादगी नै असाध्यै मन परेको थियो । कुराकानी गर्ने क्रममा तिमीमा मैले ऐश्वर्य चाहिँ देखिन, मेरो जीवनसाथी बन्न चाहिँ लायक छ भन्ने मात्र सोचे । 

दीपिका : नढाँटी भनौं, मैले तपाईंलाई मेरा लागि भन्दा पनि मेरी मितिनीका लागि मन पराएकी थिएँ । मलाई त चलचित्र क्षेत्रको व्यक्तिसँग प्रेम–विवाह गर्नु नै थिएन । म आफ्नो बुवाबाट ज्यादै प्रभावित भएकाले आफ्नो जीवनसाथी मेरो बुवा जस्तै होस् भन्ने चाहन्थें । मेरो बुवाको सिम्प्लिसिटी तपाईंमा थियो, तर म यति छिटो अनि चलचित्रको निर्देशक जस्तो व्यक्तिसँग नजिकिनु हुन्न भन्नेमा थिएँ । तपाईं राम्रो लागेरै मैले मेरी मितिनीसँग तपाईंको सम्बन्ध गाँसिदिनु पर्‍यो भन्ने सोचेकी थिएँ । 

दिवाकर : आम्मामा...त्यस्तो पो योजना थियो ? 

दीपिका : तपाईं राम्रो मान्छे हो भन्ने बुझेर मैले मेरी मितिनीले राम्रै मान्छे पाउनु होस् भन्ने सोचेकी थिएँ । त्यसबीच एक दिन हामीले बाइकमा लामै यात्रा गर्नुपर्‍यो । त्यही क्रममा तपाईंले मलाई आफ्ना बारेमा सबै कुरा नढाँटि भन्नुभयो । वास्तवमा म तपाईंसँग भएको त्यही कुराले प्रभावित भएकी थिएँ । म त्यो बेला आफ्ना लागि नभै मेरी मितिनीका लागि प्रभावित भएकी थिएँ, तर तपाईंलाई त्यो कुरा बताइन । घर आएपछि केटा त ठिक छ, राम्रै केटीसँग विवाह भए हुन्थ्यो भन्ने सोचेर मितिनीलाई फोन गरेर तपाईंका बारेमा सबै कुरा भनें । त्यो मान्छेसँग हजुरले विवाह गर्दा एकदमै राम्रो हुन्छ पनि भनें । 

दिवाकर : तिमीले मलाई पनि त्यही कुरा भन्यौं । त्यतिबेला मलाई तिमीसँग यति धेरै रिस उठेको थियो नि, के भनौं । म ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो जस्तै भयो । मैले तिमीलाई मन पराउन थालिसकेको थिएँ, तिमी त मितिनी पो भिडाउन खोज्छौ यार । 

दीपिका : त्यसपछि तपाईं र मितिनीबीच फोन र म्यासेन्जरमा कुराकानी पनि हुन थाल्यो होइन ? 

दिवाकर : त्यसपछि मैले एउटा ट्रिक लगाएँ । तिम्री मितिनीसँग मैले तिम्रो मात्रै कुरा गरिरहें । दीपिका राम्री, बानी व्यहोरा कस्तो राम्रो, बोली कति मिठो, मलाई कति केयर गर्ने जस्ता कुरा गरेर मितिनीलाई वाक्कै बनाइदिएँ । वास्तवमा मैले तिम्री मितिनीसँग कुरा गरेपछि तिमीलाई डाहा–छटपटी होस् भन्ने चाहेको थिएँ । 

दीपिका : त्यस्तै भयो नि...मितिनीसँग तपाईंले कुरा गरिरहेको थाहा पाएपछि त मलाई कस्तो गाह्रो भयो । के गरौं र कसो गरौं हुन थाल्यो । अझ भेटेको भन्ने कुराले थप तनाव दियो । मलाई असाध्यै रिस उठ्यो । किनभने मैले पनि तपाईंलाई कहीँ न कहींँ, कतै न कतै मन पराएकी रहेछु । यद्यपि मैले त्यो कुरा व्यक्त गरिन । तपाईंले मलाई मितिनीसँगको च्याटको स्क्रिन सटसमेत पठाउनु भएको थियो । त्यो कुराले म भित्रभित्रै आगो बलिरहेको थियो । पछि–पछि भएपछि मैले डाहा गर्न थालेको तपाईंलाई पनि थाहा भएछ । मितिनीसँग पनि बोल्न छाड्नु भएछ । एउटा समयमा पुगेपछि मितिनीले ‘त्यो केटा मेरा लागि होइन, तपाईंकै लागि ठीक छ’ भन्नुभयो । 

दिवाकर : मितिनीले अरू के–के भन्नुभयो त ? 

दीपिका : मसँग त सामान्य कुराकानी मात्र गर्नुभयो । कुराकानीका क्रममा तपाईंकै मात्र कुरा हुन्थ्यो भन्नु भयो । मितिनीको कुरा सुनेपछि म मख्ख परें । 

दिवाकर : त्यसपछि मात्र म तिमीसँग कुराकानी गर्न थालें । कुराकानीका क्रममा मैले तिमीसँग जति नाटक गरे पनि म तिमीलाई नै मन पराउँछु भनें । म तिमीसँग प्रेममात्र होइन, विवाह नै गर्न तयार भएको मान्छे । अब बोल्ने पालो तिम्रो हो, को सँग कुराकानी गर्नुपर्छ गर भनें । तिमीले भाइसँग भेट्न भन्यौ । 

दीपिका : भाइसँग तपाईंको कुराकानी भएपछि र भाइले ‘यो केटा ठीक छ’ भने पछि मात्र म पूर्ण रुपमा तपाईंलाई जोडी बनाउन तयार भएकी हुँ । भाइले पनि मलाई कन्भिन्स गर्‍यो । 

दिवाकर : ऐश्वर्यको छायांकनमा हामी प्रेमि–प्रेमिका भैसकेका थियौं, तर छायांकनस्थलमा हाम्रो सम्बन्धका बारेमा कसैले थाहा पाएनन् नि होइन ? 

दीपिका : हो त । हामीले आफूलाई प्रोफेसनल रिलेसनमा सीमित राख्यौं । म तपाईंलाई दिवाकर सर नै भन्थें । 

दिवाकर : कोर्ट म्यारिजपछि घुम्न बैंकक जाँदा कति रमाइलो भएको थियो नि हैन ? 

दीपिका : रमाइलो त भयो नै, तर बैंककको ट्ेरन स्टेसनमा दुई घण्टा एक–अर्काबाट छुटेर हराउँदा कति तनाव भयो, याद छैन ? 

दिवाकर : ओहो..त्यो घटना त सम्झनै मन छैन । स्टेसनमा ट्ेरन आएपछि म भित्र छिरें, तिमी छिर्नुअघि ट्ेरनको ढोका लाग्यो । भएन त फसाद । झण्डै दुई घण्टापछि भेटिँदा हामीले अर्को जीवन पाए जस्तो भयो नि । 

 

दीपिका : त्यसपछि त मैले तपाईंको हात छाड्दै छाडिन । त्यो घटनापछि डराएर हामी दुई दिनसम्म होटलबाट बाहिर पनि गएनौं । ए साँच्ची, यसपटकको भ्यालेन्टाइन डेको तयारी के छ त ? 

दिवाकर : भ्यालेन्टाइन डेको साँझ तिम्रा लागि छुट्याइसकेको छु । त्यो साँझ त्यही हाम्रो फेवरेट ठाउँमा गएर डिनर गर्ने । 

दीपिका : आहा...आई एम वेटिङ द्याट स्पेसल डे । 

प्रकाशित :माघ २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×