प्रेमलाई परिभाषित गर्न त्यति सहज छैन । प्रेमका विभिन्न रूप छन् । युवा–युवतीबीचको प्रेम, पति–पत्नीबीचको प्रेम, आमाले आफ्ना सन्तानलाई गर्ने प्रेमबाहेक थुप्रै किसिमका छन् प्रेम तर प्रेमदिवसका बेला प्रेमको अर्थ उमेर पुगेका केटाकेटीले गर्ने प्रेम भन्ने बुझिन्छ ।
माया र प्रेम मानिसको जीवनसँग जोडिएको हुँदा यो निकै संवेदनशील कुरा हो । मायालाई दुई भागमा बाँड्न सकिन्छ : वस्तुप्रतिको माया र व्यक्तिप्रतिको माया ।
देशको माया, सिद्धान्तप्रतिको झुकाव, प्रकृति, स्थान आदिको माया वस्तुप्रतिको माया हो । त्यस्तै मानिसले मानिसलाई गर्ने माया व्यक्तिप्रतिको माया हो । प्रेमका तीनवटा चरण हुन्छन् : चाहना, आकर्षण र निरन्तरता ।
चाहना : उमेर पुगेपछि शरीरमा हुने हार्मोनल परिवर्तनका कारण हामी आफूले मन पराएको व्यक्तिप्रति तीव्र रूपमा आकर्षित हुन्छौं । त्यसपछि त्यो व्यक्तिलाई प्राप्त गर्ने र आफ्नो बनाउने चाहना तीव्र हुन्छ । जसले माया, प्रेम वा एकले अर्कालाई मन पराउने अवस्था सिर्जना गर्छ ।
आकर्षण : प्रेमको तीव्र चाहनाका कारण आकर्षित व्यक्तिहरूबीच विकास हुँदै गएको सम्बन्ध हो आकर्षण । उक्त आकर्षणका लागि हाम्रो शरीरमा भएका विभिन्न हार्मोन जस्तै डोपामिन, नरडाफिड्रिन, सेरोटेनिनले काम गरिरहेका हुन्छन् ।
निरन्तरता : मायाप्रेम निरन्तर भैरहन्छ । यो निरन्तरताका लागि अक्सिटोसिन, भ्यासोप्रेसिन आदि हार्मोनले काम गर्छन् । आफूले मन पराएको व्यक्तिलाई माया गरिरहने कारण यही हो । जुन विवाहमा समेत परिणत हुन्छ । मायाप्रेम यौनिकताको अभिव्यक्ति पनि हो । प्रेममा आत्मीयता र संवाद आवश्यक छ । अपरिपक्व तथा अन्धो प्रेमको परिणाम भयावह हुन सक्छ ।
हिजोआज प्रेमको नाटक गरेर यौनसम्पर्क राख्ने र त्यसपछि छाड्ने घटना धेरै सुनिन्छ । यौन सम्बन्धबाट युवायुवतीको प्रेम अझ प्रगाढ हुन्छ भन्नेहरू पनि प्रसस्तै छन् । यद्यपि प्रेम यौनसम्पर्कमा मात्र सीमित हुन्छ भनेर बुझ्नु गलत हुन्छ । प्रेम त एउटा भावनात्मक सम्बन्ध हो, जुन दुई आत्माबीच सुखदु:खका सबै क्षणमा गाँसिएर आउँछ ।
जसमा शारीरिक सौन्दर्य, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था आदिले समेत काम गर्छ । धेरै व्यक्तिहरू प्रेमविवाहलाई यौन स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्छन्, तर व्यवहारमा कमै मात्र त्यस्तो विवाह सफल देखिन्छ । विवाहपूर्वको प्रेम होस् वा विवाहपछिको, सबैभन्दा ठूलो आवश्यकता हो— दुई आत्माबीचको विश्वास र आत्मसम्मान । प्रेममा स्वार्थ छैन भने त्यसलाई विवाहसँग जोडेर हेर्नु हुँदैन ।