भनिन्छ– प्रेममा रोमान्स हुन्छ, तर रोमान्समा प्रेम नहुन सक्छ । रोमान्सले प्रेमको मिठास बढाइदिन्छ । फेरि रोमान्सबिनाको प्रेममा दिगोपन नहुन सक्छ । अहिले रोमान्सका लागि मात्र गरिने स्वार्थी प्रेमको बिगबिगी भने बढ्दैछ । स्वार्थीहरू प्रणय दिवसको बहानामा मोजमस्तीमा डुब्छन् । यसबाट साँचो प्रेम गर्न खोज्नेहरूले जोगिनुपर्छ । कसैका बारेमा राम्रोसँग नबुझी, उसको स्वार्थी प्रेममा विश्वास गर्दा धोका भएका उदाहरण कैयौं छन् । सच्चा प्रेम गर्न खोज्नेहरू सतर्क हुँदै सम्बन्ध गाँस्छन् । स्वार्थी प्रेमका कारण प्रणय दिवस मनाउने शैलीमा समेत केही परिवर्तन आएको छ ।
केही समयअघिसम्म जोडी नभएकाहरूले प्रेम अभिव्यक्त गर्न, आफ्नो मनको कुरा भन्न यो दिनलाई प्रयोग गर्थे । अहिले विवाहित जोडी तथा प्रेम सम्बन्धमा रहेका युगल जोडीले रोमान्स गर्ने दिनका रूपमा यसको आकर्षण बढ्दैछ । पहिले प्रेम अभिव्यक्त गर्ने अवसर नहुँदा यो दिनलाई सदुपयोग गरी प्रेम यात्रा प्रारम्भ गरिन्थ्यो । अहिले भने प्रेम अभिव्यक्त गर्न प्रणय दिवस नै कुर्नुपर्ने बाध्यता छैन । प्रविधिमा आएको ठूलो परिवर्तनका कारण आफ्ना मनका कुरा दिनहुँ अथवा भनौं क्षण–क्षणमा आदान–प्रदान हुन थालेका छन् ।
छिनमा प्रेममा पर्ने, छिनमा बिछोड हुने, फेरि अर्कोसँग सम्बन्ध बढाउने कार्यमा सामाजिक सञ्जालले पुलको काम गर्दा विगतमा प्रेम गर्नेहरूलाई सघाउने प्रणय दिवसप्रतिको आकर्षणमा केही कमी आएको हो । अहिले यो दिनलाई विवाहित अथवा पहिल्यै प्रेमी–प्रेमिका भैसकेकाहरूले रोमान्स गर्ने दिनका रूपमा प्रयोग गर्न थालेका छन् ।
यो दिनको बहानामा प्रेमी जोडी तथा विवाहित जोडीहरू घुमघाममा निस्कन थालेका छन् । यस्ता जोडिले विभिन्न उपहार आदान–प्रदान गर्दै यो दिनलाई स्मरणीय बनाउँदै आगामी यात्रा सुमधुर बनाउने प्रयास गर्छन् । प्रणय दिवसका लागि उपहार किन्न पाइने पसलहरूमा समेत विवाहितहरूको संख्या बढ्न थालेको छ । कलेज तथा स्कुल अध्ययनरत केही विद्यार्थीले मात्र रमाइलोका लागि यो दिनलाई प्रेम अभिव्यक्त गर्न प्रयोग गर्ने गरेका छन् ।
मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । समय अभाव भएका व्यस्त जोडीले समेत यो दिन केही समय एक–अर्काका लागि छुट्याउँछन् ।