नेपाली बहृत् शब्दकोशमा प्रेमलाई कुनै विषयवस्तु वा व्यक्तिको स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता, अनुराग रूप, गुण, सामीप्य अथवा कामवासना आदिका कारण स्त्री–पुरुषमा परस्पर हुने अनुराग, प्यार, प्रीति, कृपा, दया, माया भनेर परिभाषित गरिएको छ । यही परिभाषालाई विश्लेषण गर्ने हो भने पनि प्रेम अथाह महासागर हो र प्रणय सम्बन्धचाहिँ पानीको एक थोपा मात्र । प्रेम र प्रणय सम्बन्धलाई आधार बनाएर विश्व साहित्यमा महान् कलाकृति र अमर सिर्जनाहरू रचना गरिएका छन् । स्रष्टाहरूले सिर्जना गरेका काल्पनिक पात्रहरू पनि अमर प्रेमका प्रतीकका रूपमा हाम्रा सामु छन् । आदम–इभ, लाल–हिरा, लैला–मजुन, रोमियो–जुलियट, मुकुन्द–इन्दिरा, मुना–मदन आदिलाई सफल र आदर्श प्रेम जोडीका रूपमा लिन सकिन्छ ।
प्रेम एउटा मानवीय सम्बन्ध हो जुन युर्गौं–युगदेखि मानव समाजमा विद्यमान छ । वैवाहिक/प्रणय सम्बन्ध मात्र प्रेम होइन । प्रेमका अनेकौं रूप र स्वरूप छन् । मातृ प्रेम, भातृ प्रेम, वर्गीय प्रेम, आध्यात्मिक प्रेम, प्रणय प्रेम आदि । प्राप्तिको अपेक्षा नराखी अन्तरआत्माबाट नै प्रस्फुटित हुने हृदयको झंकार नै प्रेम हो । प्रेम अविनाशी हुन्छ तर कुनै निहित स्वार्थबाट प्रेरित प्रेम स्वार्थपूर्ति भएपछि क्रमश: खण्डित हुँदै जान्छ, त्यसैले भनिन्छ– कसैलाई प्रेम गर्नुछ भने अन्तरआत्माबाट नि:स्वार्थ प्रेम गर्नुपर्छ । नि:स्वार्थ प्रेम सधैं सफल हुन्छ । ‘प्रेम’ र प्रणय (विवाह) एकै सिक्काका दुई पाटा होइनन् । यी नितान्त भिन्न र पृथक् विषय हुन् । प्रेम हामी सबैसँग सधैं गर्न सक्छौं तर विवाह निश्चित सामाजिक एवं कानुनी मापदण्ड पूरा भएपछि कुनै एक जना व्यक्तिसँग मात्र गरिन्छ ।
प्रेम दिवसको अवसर पारेर यदि कसैलाई ‘रातो गुलाब’ उपहार दिँदै हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नै अन्तरआत्मासँग सोध्नुहोस्, म के गर्दैछु ? मेरो निर्णय उनलाई मान्य होला ? यदि मान्य भैहाल्यो भने हाम्रो सम्बन्ध जीवनभर जीवन्त रहन सक्ला ? म कतै उनको शारीरिक सौन्दर्य, बाहिरी आकर्षण र कृत्रिम व्यवहारबाट प्रेरित भएको त छैन ? यदि त्यसो हो भने सावधान, त्यस्तो प्रणय सम्बन्ध जीवन्त नहुन सक्छ । तपाईं पहिरनबाट प्रेरित हुनुहुन्छ भने पहिरन परिवर्तन गरेपछि तपाईंको प्रेरणा समाप्त हुन्छ । तपाईं शारीरिक आकर्षणबाट प्रेरित हुनुहुन्छ भने त्यो आकर्षण क्रमश: नासिँदै जान्छ । तपाईं कृत्रिम बोलीचाली र व्यवहारबाट प्रेरित हुनुहुन्छ भने वास्तविक व्यवहार र आचरण देखेपछि त्यसको अनुराग स्वत: समाप्त भएर जान्छ, तसर्थ जीवनसाथीका रूपमा कसैसँग प्रणय सम्बन्ध सुरु गर्नुअघि उनको वास्तविक व्यवहार, आचरण, अभिरुचि एवं चरित्रसम्बन्धी मूलभूत कुरा जान्नैपर्छ ।
नत्र हतारमा विवाह गरेर फुर्सदमा पश्चाताप गर्नु सिवाय केही बाँकी हुँदैन । मुख्य कुरा त जसलाई ‘रातो गुलाफ’ दिन लालायित हुनुहुन्छ, तपाईंले उनको रूप होइन, ‘सार’ लाई बु√नुपर्छ । प्रणय प्रस्ताव अस्वीकृत नै भयो भने पनि तपाईंले उनलाई उत्ति नै माया गर्नुपर्छ जति पहिले गर्नुहुन्थ्यो, किनभने गुलाफ दिनु तपाईंको चाहना हो भने त्यसलाई स्वीकार गर्नु नगर्नु उनको अधिकार हो । उनलाई सच्चा माया गर्नुहुन्छ भने उनको इच्छाको कदर गर्नु तपाईंको कर्तव्य हो । प्रेम ‘हाई’ बाट सुरु भएर ‘बाई’ मा अन्त्य हुनुहुँदैन । युग–युगान्तरसम्म अजर, अमर र कालजयी हुनुपर्छ ।