यतिबेला हाम्रो देशमा भ्यालेन्टाइन दिवसको नूर गिरेको छ । यसका केही कारण छन् । हाम्रो देशमा बलात्कारका घटना त दिनहुँ भैरहेका हुन्छन् नै । देश सात प्रदेशमा बाँडिएको छ । प्रदेश पिच्छे बलात्कारका अंक र आंकडा फरक–फरक हुने नै भए ।
सुरु–सुरुमा यो सहरमा सन्त भ्यालेन्टाइन दिवसको कति ठूलो चार्म थियो । भ्यालेन्टाइन दिवसको उपलक्ष्यमा काठमाडौंका एउटै पनि रेस्टुराँमा बस्ने सिट पाइँदैनथ्यो । तन्नेरीहरू सिट नपाएकोमा सुस्केरा हाल्थे । कोही रेस्टुराँका उपलब्ध खाली ठाउँमै बसेर प्रेमालाप सुरु गर्थे । आज त्यो समय छैन ।
भ्यालेन्टाइन दिवस पनि घरको श्राद्ध जस्तो भैसकेको छ । आउँछ, जान्छ । जो यो दिवसको महत्व जान्दथे ती तन्नेरी रहेनन् । आफ्नो प्रेमका दिनहरूमा तन्नेरीहरूले सबैभन्दा बढी मन पराउने ‘हटब्रेड’ पनि अब आफैं बूढो भैसकेको छ । साना रेस्टुराँबाट उक्लिदै–उक्लिदै लोकप्रिय खाजा मम सोल्टी र अन्नपूर्णसम्म पुगेको छ । कोक, फान्टाको ठाउँ लिएको छ एप्पल साइडरले । दुनियाँ कहाँबाट कहाँ पुगिसकेको छ ।
हो नि, २०७२ को भुइँचालोपछि मानिसले जीवनको अर्थ हराएको छ । वैशाख महिनामा त्यत्रो हल्लायो । नेपालीहरू त सुरा थिए र थोरै मारिए । अरू हुन्थे भने यहाँ जति मारिए, त्यसको डबल मारिन्थे । त्यो बेलादेखि रेस्टुराँ जाने हुलमा कटौती भयो । अहिले त यस्तो समय आयो, रेस्टुराँवालाले ‘लौ, ग्राहकहरूलाई दश पर्सेन्ट सर्भिस चार्ज छुट भयो’ भन्दा पनि ग्राहक रेस्टुराँको दैलो छिर्न चाहँदैनन् । सहरमा जोडदार हल्ला चलेको छ– रेस्टुराँ खाली रहने यही अवस्था कायम रह्यो भने सरकारले खानेकुरा खानेहरूसँग उठाउँदै आएको तेह्र प्रतिशत भ्याट पनि ग्राहकको तर्फबाट रेस्टुराँ साहूहरूले आफैं तिरेर भए पनि रेस्टुराँ जोगाउने सहमति गरेका छन् ।
त्यसो भयो भने, त्यो अर्को दुर्भाग्य हुनेछ । काठमाडौंका रेस्टुराँहरूमा खानाको स्वाद र स्तर दुवै खस्किनेछ । त्यतिबेला सोल्टी र अन्नपूर्णको म:म भन्दा मांसगल्लीको नारायण दाइले बत्तीसपुतलीको ओरालोमा खोलेको म:म धेरै स्वादिलो हुनेछ । त्यो अवस्थामा सोल्टी र अन्नपूर्णका साहूहरू काठमाडौंमा खोलिएका फुड डेलिभरी कम्पनीहरूमार्फत मांसगल्लीको नारायण दाइको म:म पसलबाट म:म मगाउने धन्दामा लाग्ने छन् । यता नारायण दाइको बत्तीसपुतली कार्यालयलाई भ्याइ–नभ्याइ हुनेछ । उता ठूला होटलहरू सर्भिस चार्ज र भ्याट नलिइकनै म:मबाट पैसा कमाउने अवस्थामा पुग्नेछन् । नेपालको अवस्था नै यही हो कि जोसँग धेरै सम्पत्ति हुन्छ, त्योसँग अझ धेरै सम्पत्ति हुन्छ । यो नेपाली प्रकृतिको शाश्वत नियम हो ।
यतिबेला हाम्रो देशमा भ्यालेन्टाइन दिवसको नूर गिरेको छ । यसका केही कारण छन् । हाम्रो देशमा बलात्कारका घटना त दिनहुँ भैरहेका हुन्छन् नै । देश सात प्रदेशमा बाँडिएको छ । प्रदेश पिच्छे बलात्कारका अंक र आंकडा फरक–फरक हुने नै भए । ती आंकडा मध्ये पनि सुदूरपश्चिम प्रदेशको कन्चनपुरबाट सात महिनाअघि आएको निर्मला पन्तको बलात्कारपछि हत्याको समाचार अहिलेसम्म सेलाएको छैन । किनभने, बलात्कारी अहिलेसम्म फेला परेको छैन । बलात्कारी र हत्यारा एउटै हो कि दुई अलग–अलग मानिस हो ? त्यसको पनि किटानी हुन सकेको छैन । विभिन्न मानिसका अनुसार, यो अपराध ठूलै मानिस स्वयं वा उसको सन्तानबाट भएको हो । त्यसैले अहिलेसम्म निर्मलाको हत्यारा फेला नपारिएको हो । यो घटनाले सम्पूर्ण भ्यालेन्टाइन दिवसका अनुरागीहरूको मन खिन्न छ । अनुहार अमिलिएको छ ।
सकस यो मात्र पनि होइन, साँचो सकस दिएको छ— मीटु अभियानले । अहिले कुनै पनि प्रेमीले आफ्नी प्रेमिकामाथि अगाध आस्था र विश्वास राख्ने अवस्था छैन । प्रेमिकाले अचानक प्रेमीसँग कोहिनूर हीरासँग मिल्दोजुल्दो कुनै उपहार मागिन र दुर्भाग्यवश: प्रेमीले त्यो उपहारदिन सकेन भने कुनै पनि बेला बबालका बबलहरू उठने पक्का छ । प्रेमी–प्रेमिका बीचको रहस्य कुनै पत्रकारले थाह पाएको खण्डमा के होला ? पत्रकार पुरुष परेछ भने त अलिकति जोगाउने नियत पनि राख्ला । त्यस्तो भएन र महिला पत्रकार परेको खण्डमा समाचारको शीर्षक तयारै छ, ‘प्रेमको वहानामा यौन शोषण ।’
भ्यालेन्टाइनका लागि अहिलेको जमाना खराव छ । हिन्दू धर्मका रक्षकहरू प्रेम दिवसका विरुद्ध डण्डा चलाउन आउने सम्भावना उत्तिकै चर्को छ । यो अवस्थामा प्रेमिल सन्त भ्यालेन्टाइनको नाममा पुष्पार्पण गर्न चाहने प्रेमी–प्रेमिकाले रातो कागजले बनेको गुलावको फूल समर्पण गर्नु नै सर्वोत्कृष्ट हुनेछ ।