साप्ताहिक संवाददाता
प्रेमी–प्रेमिकाको जोडीदेखि श्रीमान्–श्रीमतीलाई लक्षित गरेर धेरै किसिमका खेलहरू विकसित गरिएका छन् र ती खेल विश्वका विभिन्न भागमा लोकप्रिय छन् । यी खेल जोडीहरूबीच भावनात्मक सम्बन्ध बढाउने ध्येयले विकास भए पनि यसले पाउन थालेको लोकप्रियताले ठूलै प्रतियोगिताको रूप लिँदै गएको छ । प्रेमी–प्रेमिकाहरू मिलेर खेल्ने खेल धेरै किसिमका छन् । यद्यपि यहाँ प्रस्तुत खेल प्रतियोगिता हुने खेल मात्र हुन् ।
चुम्बन प्रतियोगिता
चुम्बन प्रतियोगिताको अवधारणा अहिले धेरै देशमा विकास भैरहेको छ । अझ यो प्रतियोगिता भ्यालेन्टाइन डेकै दिन आयोजित हुन्छ । कुनै पनि जोडीले सहभागिता जनाउन पाउने यो प्रतियोगितामा जसले लामो समयसम्म चुम्बन गर्न सक्छ उही विजेता हुन्छ । यो प्रतियोगितालाई रोचक बनाउन केही आयोजकले चुम्बन गर्दै नाच्नु पर्ने जस्ता नि सयमसमेत तय गरेका छन् ।
श्रीमती बोक्ने प्रतियोगिता
फिनल्यान्डमा बार्षिक रूपमा आयोजना हुने श्रीमती बोक्ने प्रतियोगिता अहिले विभिन्न मुलुकमा समेत सञ्चालन हुन्छ । यो खेलको विकास अठारौं शताब्दीमा फिनल्यान्डवाट भएको मानिन्छ । त्यतिबेला पुरुषहरू छिमेकी गाउँका केटी चोर्न जान्थे । यसरी अर्कै ठाउँकी युवती चोर्न गएपछि बोकेर भाग्नुपर्ने अवस्था सिर्जना हुन्थ्यो । यही कुराबाट यो खेलको बिकास भएको मानिन्छ ।
यो प्रतियोगितामा श्रीमतीलाई जसरी भएपनि बोकेर निर्धारित दूरी जसले पहिले पूरा गर्छ उही विजेता हुन्छ । अहिले यो प्रतियोगिताको विश्व च्याम्पियनसिपसमेत हुन्छ । यो प्रतियोगिताको विश्व च्याम्पियनशिपमा इष्टोनियाका माडिस उस्रोग सर्वाधिक ७ पटक विश्व विजेता भएका छन् । यो खेल अमेरिका, अस्ट्रेलिया, बेलायत तथा एसियाका केही भूभागमा समेत सञ्चालन गरिन्छ ।