साप्ताहिक संवाददाता
भ्यालेन्टाइन्स डेको अवसर पारेर आज बिहिबार बेलुका दरबारमार्ग सिथ्त किङ्स लाउञ्जमा विशेष सांगीतिक प्रस्तुती आयोजना गरिने भएको छ ।
बेलुका छ बजेदेखि प्रारम्भ हुने उक्त विशेष सांगीतिक प्रस्तुतीमा लोकप्रिय सांगीतिक समुह ‘मंगोलियन हार्ट्स’ को विशेष प्रस्तुती रहने लाउञ्जका इभेन्ट को–अर्डिनेटर बिनोद सिंहले जानकारी दिएका छन् ।
दर्जनौं रोमान्टिक गीत गाएर दर्शक तथा स्रोतामाझ लोकप्रिय भएको सांगीतिक समुह ‘ मंगोलियन हार्ट’ का मुख्य गायक राजु लामा तथा उनको ब्याण्डका संगीतकर्मीहरु आज बेलुका किङ्स लाउञ्जमा विशेष आकर्षणको रुपमा रहने छन् ।
‘अ रोमान्टिक नाइट विद हार्ट अफ हार्टस्–मंगोलियन हार्ट’ शीर्षक राखिएको उक्त लाइभ कन्सर्टमा समुहका गायक राजु लामाले लोकप्रिय गीत गाएर मायालु जोडीहरुलाई नचाउने तथा रोमान्टिक वातावरण सिर्जना गर्ने निश्चित छ । मंगोलियन हार्टमा गायक राजु लामासहित चार जना संगीतकर्मीहरु आवद्ध छन् ।
भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर राजु लामा तथा उनको ब्याण्डले आफ्नो नयाँ गीत ’सैलुङ पोङ्दी...’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।