साप्ताहिक संवाददाता
अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘बुलबुल’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्रमा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । महिला टेम्पो चालकको भूमिका निर्वाह गर्न स्वस्तिमाले करिब एक महिना टेम्पो चलाउन सिकेकी थिइन् ।
यसअघि नै सार्वजनिक भएको चलचित्रको ट्रेलरलाई युट्युबमा दर्शकहरूले निकै रुचाएका छन् । यो चलचित्र विनोद पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । यो चलचित्रको निर्माण अविरल थापा, भीम थापा, पुरुषोत्तम पाण्डे तथा राजु पौडेलले गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । बुलबुलमा समावेश माया लै लै.... गीतले युट्युबमा उत्कृष्ट भ्युज पाएको छ ।
कोशिस क्षेत्रीको शब्द तथा संगीतको उक्त गीतमा रजिना रिमाल तथा निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । चलचित्रको अर्को गीत जाद्रै बस्यो दिलले पनि युट्युबमा राम्रै दर्शक पाएको छ । सुसन प्रजापतिले छायांकन गरेको चलचित्र बुलबुलमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारले समेत अभिनय गरेका छन् ।