साप्ताहिक संवाददाता
सञ्चारकर्मीबाट निर्देशक भएका सुव्रतराज आचार्यले हालसम्म दुईवटा चलचित्र निर्देशन गरे । उनले निर्देशन गरेका चलचित्र अधकट्टी तथा सुश्री सम्पत्ति व्यवसायिक रूपमा त्यति सफल मानिएनन् । चलचित्र निर्देशनबाट अपेक्षाकृत सफलता हासिल नगरे पनि सुव्रत म्युजिक भिडियो निर्देशनमा भने जमेका छन् ।
म्युजिक भिडियोको क्षेत्रमा उनलाई करोड क्लब निर्देशक भन्न थालिएको छ । कारण उनले निर्देशन गरेका म्युजिक भिडियोहरूले युट्युबमा १ करोड भन्दा बढी भ्युज पाएका छन् । सुव्रतले निर्देशन गरेका म्युजिक भिडियोहरूमध्ये आशिष सचिन र मेलिना राईको पिरिम नलाउने (२ करोड ४१ लाख) तथा दीपक बज्राचार्यको मन मगन (१ करोड २४ लाख) ले क्रमश: २ करोड तथा एक करोड भ्युज पाइसकेका छन् ।
त्यसबाहेक सचिन रौनियारको ए मान्छे (६४ लाख), प्रमोद खरेलको लाईदेउ न मायाले (५५ लाख ५७ हजार), दीपक बज्राचार्यको अल्लारे (४४ लाख ८७ हजार), हिमाल सागरको बाजा (१० लाख ८२ हजार), मेलिना राई र दीपक आर पाण्डेको थोरै माया (७ लाख २७ हजार), प्रमोद खरेलकै पृथ्वी (३ लाख ६७ हजार) तथा उत्तम थापाको ज्यान माया (४ लाख २१ हजार) गीतले पनि राम्रो भ्युज पाएका छन् । चलचित्रको तुलनामा म्युजिक भिडियोबाट सफलता पाइरहेका निर्देशक आचार्य आगामी दिनमा म्युजिक भिडियोमै केन्द्रित हुने सम्भावना बढी छ ।