साप्ताहिक संवाददाता
युवा लेखक सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित चलचित्र ‘समर लभ’ गत शुक्रबार प्रदर्शनमा आयो । उक्त चलचित्रले औसत व्यापार गरेको हलवालाहरू बताउँछन् । चलचित्र प्रदर्शनको अघिल्लो दिनदेखि परेको झरीका कारण शुक्रबारको व्यापार औसत रह्यो, तर शनिबार भने ‘समर लभ’ले दर्शकको राम्रो साथ पायो । मुस्कान ढकालद्वारा निर्देशित उक्त चलचित्र अहिले पनि हलमा चलिरहेको छ । भट्टराईको प्रेमिल उपन्यास समर लभमा आधारित यो चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी आदि कलाकारले अभिनय गरेका छन् । गत मंगलबार निर्माण पक्षले यो चलचित्रको विशेष सो राखेको थियो जसमा चलचित्र क्षेत्रका केही चर्चित अनुहारको उपस्थिति थियो । उनीहरूलाई समर लभ कस्तो लाग्यो त ? उनीहरूको भनाइ जस्ताको तस्तै :
आकाश अधिकारी, निर्माता
मैले समर लभ उपन्यास पनि पढेको थिएँ । उपन्यास र चलचित्र एउटै हुँदैन । त्यसैले मैले पनि उपन्यास र चलचित्रमा निकै फरक पाएँ । यद्यपि चलचित्रको लभ स्टोरीले सबैलाई बाँध्छ । धेरैपछि एउटा पूर्ण लभ स्टोरी हेर्न पाउँदा आनन्द लाग्यो । कलाकारहरूले पनि आफ्नो ठाउँबाट राम्रो प्रस्तुति दिएका छन् । उपन्यासमा अतित पात्रलाई ब्राम्हण समुदायको युवाका रूपमा प्रस्तुत गरिएको थियो । उपन्यासमा आधारित चलचित्र भएकाले अतितको भूमिका निर्वाह गर्ने अभिनेता चयनमा निर्माण पक्ष चुकेको हो कि भन्ने अनुभव भयो, तर अतीतको भूमिका निर्वाह गर्ने अभिनेता आशिषको अभिनय दमदार लाग्यो । डेब्यु चलचित्रमै यति राम्रो अभिनय गर्नु चानचुने कुरा होइन । यस्तै रेवतीले नेवार समुदायकी सायाको भूमिकामा अभिनय गरेकी छिन् । उनको अभिनयमा पनि उत्तिकै निखार छ । निर्देशक मुस्कान ढकालले पनि आफ्ना तर्फबाट निकै मेहनत गरेका छन् । एउटा सफल उपन्यास भएकाले निर्देशकले आफ्नो सिर्जना थप्न नमिल्ने भए पनि चलचित्र आफैंमा राम्रो लाग्यो ।
सवीर श्रेष्ठ, निर्देशक
एकदमै राम्रो लाग्यो । एउटा चर्चित कृतिमाथि चलचित्र बनाउनु आफैंमा चुनौतीपूर्ण काम हो । तैपनि निर्देशकले चलचित्रप्रति पूर्णरूपमा न्याय गरेका छन् । यद्यपि अहिले समर लभका बारेमा मिडिया तथा सामाजिक सञ्जालहरूमा पात्र छनोटमा चुकेको भनेर आलोचना भैरहेको छ । सरसर्ती हेर्दा मलाई पनि त्यस्तै लाग्यो । किनभने, उपन्यासमा कुन पात्र छ भन्ने लगभग अधिकांश दर्शकलाई थाहा भैसकेको छ । त्यसैले पात्र छनोट गर्दा उपन्यासमा जुन समुदायको छ त्यहीअनुसार छानेको भए सुनमा सुगन्ध हुने थियो । यो चलचित्रको मेकिङ पक्ष राम्रो छ । अर्को कुरा चलचित्र आफैंमा लभ स्टोरीमा आधारित भएकाले यसमा समावेश रोमान्टिक गीत–संगीत हुनुपर्ने हो कि जस्तो लाग्यो । त्यस्तै, पटकथामा पनि मेहनत नपुगे जस्तो महशुस भयो ।
केशव भट्टराई, निर्माता तथा कलाकार
मैले समर लभ पढेको छैन । त्यसैले यस विषयमा कमेन्ट गर्न अलि गाह्रो भैरहेको छ । यद्यपि चलचित्र जुन हिसाबबाट उठान हुनुपर्ने हो त्यो अलि स्लो लाग्यो, तर उपन्यासमा त्यही छ भने राम्रो हो । चलचित्रमा कलाकारहरूले निकै राम्रो अभिनय गरेका छन् । मलाई रेवतीको अभिनय निकै दमदार लाग्यो । यस्तै, चलचित्रको संगीत पनि राम्रो छ । सिनेम्याटोग्राफी उत्कृष्ट छ । निर्देशकले यो चलचित्रमा निकै मेहनत गरेका छन् ।
दीपेन्द्र लामा, निर्देशक
समर लभ मलाई राम्रो लाग्यो । निर्देशकले यो चलचित्रप्रति भरपुर न्याय गरेका छन् । अहिले लभ स्टोरीमा आधारित चलचित्र जुन धारमा बगेका छन् यो चलचित्र पनि त्यही धारमा छ । चलचित्रमा कलाकारहरूको प्रस्तुति प्रशंसायोग्य छ । यद्यपि अतीतको भूमिकामा अभिनय गर्ने अभिनेता छनोटमा निर्माण पक्ष चुके जस्तो लाग्यो । किनभने अतीत ब्राम्हण समुदायका हुन् । त्यो पात्रमा ब्राम्हण समूदायकै अर्को कुनै अभिनेता भैदिएको भए उत्तम हुन्थ्यो, यद्यपि आशिषको अभिनय दमदार छ । चलचित्रका अरू पक्ष पनि राम्रा छन् ।
छविराज ओझा, निर्माता
समर लभ प्रेम कथामा आधारित छ । त्यसैले यो टिन एज चलचित्र हो । चलचित्रको टेक्निकल तथा क्यामेराको पक्ष एकदमै मजबुत छ । इन्ट्रभलसम्म पुग्दा एउटै कुरामात्र दोहोरिँदा कतै दर्शकलाई मोनोटोनस हुने हो कि भन्ने लाग्छ । अर्को कुरा यो चलचित्रको पटकथा अलि कम भएको हो कि जस्तो अनुभव भयो । प्रोडुसर तथा डाइरेक्टरका तर्फबाट गर्नुपर्ने काममा भरपुर मेहनत गरिएको छ ।