साप्ताहिक संवाददाता
केहिदिन अघि मात्रै गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक भयो । उक्त गीत गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । तर, उक्त गीत अहिले युट्युबबाट हटाईएको छ । सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्रीसँग उक्त गीतमा प्रतिबन्ध लगाउन माग गरेकै दिन युट्युब च्यानलबाट हटाइएको हो ।
स्रोतका अनुसार दबाबपछि उनी आफैंले गीत हटाएका हुन् । उनले सिधै सरकारले दबाब दिएर गीत हटाउनु परेको नभने पनि घुमाउरो भाषा प्रायोग गर्दै चित्त नबुझेका कुरामा ब्यंग्य गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा गीत हटाउनु अघि लेखेका छन्, ‘म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा दोहोर्याउन चाहन्छु ।’
उनले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद्, ३३ किलो सुन प्रकरण, राष्ट्रपतिले चढ्ने महंगो हेलिकप्टरसँगै सरकारको बागडोर सम्हाल्नेहरुले गरिरहेको अनियमितताप्रति ब्यग्य गर्दै गीत सार्वजनिक गरेका थिए । उक्त गीतलाई लिएर नेकपा तथा त्यसका भ्रातृ संस्थाहरुले विरोध जनाएको बताइएको छ ।
पशुपति शर्माको स्टाटस
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार । हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।
सर्वप्रथम त म यहााहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।
सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु । धन्यवाद ।
पशुपति शर्मा