गत शनिबार बिहान काठमाडौंको मौसम निकै चिसो थियो । शुक्रबार साँझदेखि नै काठमाडौं नजिकैका चन्द्रागिरी, फूलचोकी, ककनी, शिवपुरी, नगरकोट आदि क्षेत्रमा व्यापक हिउँ पर्यो । बिहानै झमझम पानी परिरहेको थियो । चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार उक्त दिन उनले थाहा पाएपछिकै सबैभन्दा बाक्लो हिउँ परेको थियो ।
चन्द्रागिरीस्थित केबलकारबाट माथि उक्लने क्रममा हिउँ खेल्न जानेहरू हिउँले सेताम्मे डाँडाको तस्बिर केवलकारभित्रैबाट कैद गर्दै थिए । चन्द्रागिरी वरपरका बोट–बिरुवासमेत हिउँले सेताम्मे थिए । चन्द्रागिरीमा हिउँ हेर्न जानेहरूको भीडलाई व्यवस्थापन गर्नसम्म हम्मे–हम्मे परेको थियो ।
यो वर्षको लगभग अन्त्यतिर वरिपरिका डाँडाहरूमा पनि बाक्लो हिउँ परेकाले हिउँमा रमाउन उपत्यकावासीले धेरै टाढा जानु परेन । ककनीका स्थानीय शिक्षक भुवन खत्री काठमाडौं वरपरका डाँडामा १३ वर्षपछि यति बाक्लो हिउँ परेको बताउँछन् ।
हिउँ खेल्न नगरकोट पुगेका सिन्धुलीका वासुदेव घिमिरे भन्छन्— तराई र मध्यपहाडी भेगका मानिसहरूका लागि हिउँ महत्वपूर्ण कुरा हो । हिउँ खेल्न रमाइलो हुन्छ । चितवनकी सुजाता कोइराला शनिबार बिहानको चिसोमा चन्द्रागिरी जाने मुडमा थिइनन्, उनलाई साथीहरूले हिउँ खेल्न कर गरेपछि उनी चन्द्रागिरी पुगेकी थिइन् । सुजाता भन्छिन्— हामी तराईका मानिसलाई हिउँ खेल्न पाउँदा निकै रमाइलो लाग्छ ।
नुवाकोटकी सुस्मिता सिग्देल पनि हिउँमा लडीबुडी गरिरहेकी थिइन् । रमाइलो गर्न साथीहरूसँगै आएको बताउने सुस्मिता हिउँ खेल्दा रमाइलो लाग्ने र साथीहरूका अगाडि साहसी सावित भइने अनुभव सुनाउँछिन् ।
चन्द्रागिरीमा शनिबार बिहान ८ इन्चसम्म हिउँ परेको चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाह बताउँछन् । चार वर्षपछि अहिलेसम्मकै सबैभन्दा धेरै र बाक्लो हिउँ परेकाले शनिबार मात्र करिब १२ हजार मानिस चन्द्रागिरीमा हिउँ खेल्न पुगेको शाहले जानकारी दिए ।