साप्ताहिक संवाददाता
नेपाली महिला फुटबलले पाएको अहिलेसम्मकै अब्बल दर्जाकी खेलाडी हुन्— सावित्री भण्डारी । यी फरवार्डलाई साम्बा भनेर पनि सम्बोधन गरिन्छ । ब्राजिलीयन फुटबलकी प्रशंसक सावित्रीको परिचय नै साम्बा हो । यिनै साम्बाको एउटा ठूलो सपना पूरा भएको छ । सावित्रीले प्राय: भन्ने गरेकी थिइन्— उनको सपना भनेकै भारतलाई हराउनु हो । पछिल्लो समय नेपाली महिला फुटबलको प्रत्येक यात्रा भारतको हातबाट टुंगिने गरेको छ ।
नेपालले भारतलाई हराउन सकेको छैन, तर अहिले इतिहास फेरिएको छ । भारतको भुवनेश्वरमा भैरहेको हिरो गोल्डकपमा नेपालले भारतविरुद्ध २–१ को जित निकालेको छ । नेपालका लागि दुवै गोल गर्ने खेलाडी तिनै सावित्री थिइन् । नेपाल यसअघि भारतविरुद्ध खेलेका आठ खेलमध्ये सातवटामा पराजित हुँदै आएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो । अब नेपालले भन्न सक्नेछ— हामीले भारतलाई पनि हराएका छौं, महिला फुटबलमा ।
केही सातापछि नेपालमै साफ वुमेन्स च्याम्पियनसिप हुनेछ । विराटनगरमा हुने उक्त प्रतियोगितामा नेपालको उद्देश्य हुनेछ, पहिलो पटक उपाधि चुम्ने । यो अभियानमा सबैभन्दा ठूलो बाधा भनेकै भारत हो । अब यही भारतसँग कुनै न कुनै चरणमा सामना गर्दा नेपाली टिमको आत्मविश्वास बढेकै हुनेछ । नेपालले फेरि भारतलाई हराउने हो भने त्यसका लागि सावित्रीको यस्तै उत्कृष्ट प्रदर्शन चाहिनेछ । भनिरहनु पर्दैन, साम्बाको अर्को ठूलो सपना भनेको साफ च्याम्पियनसिप जित्ने पनि हो ।