साप्ताहिक संवाददाता
प्रेम एउटा फरक र बेग्लै अनुभूति हो । एकदम पृथक र सुन्दर अनुभूति भएकैले प्रेमले सबैको मनमा अमीट छाप छोडिरहेको हुन्छ । के सर्वसाधारण, के सेलिब्रेटी हरेकको मनमा प्रेमको मिठो अनुभूति टुसाएकै हुन्छ । युवा हुन् वा प्रौढ, गरिब हुन् वा धनी सबैको जीवनमा एकपटक प्रेम भएकै हुन्छ । अझ प्रेयसीहरूसँगका प्रेमिल अनुभूतिका त के कुरा ?
त्यसो भए प्रेमको अनुभूति कस्तो हुन्छ त ? भनिन्छ, प्रेम अन्धो हुन्छ । के साँच्चै भनिएजस्तै प्रेम अन्धो नै हुन्छ त ? प्रेममा पर्दा के–कस्ता भावना मनमा बुर्कुसी मार्छन् ? त्यो कुरा लामो प्रेम जीवन जिएकी अहिलेकी व्यस्त अभिनेत्री वर्षा राउतभन्दा अरू कसलाई थाहा होला ? ‘प्रेमलाई जस्तो सोच्यो त्यस्तै हुन्छ । एउटा राम्रो व्यक्तिलाई प्रेम गरियो भने धेरै राम्रो हुन्छ,’ वर्षा भन्छिन्, ‘सम्भवत: जीवनको सबैभन्दा सुन्दर अनुभूति भनेकै प्रेम हो ।’ प्रेममा पर्दा मुख्य कुरा त एक–अर्कामा केयरिङ तथा सपोर्ट हुने अनुभव उनले गरेकी छिन् । ‘दिक्क लागेका बेला समय बिताउने बाटो हुन्छ,’ आफ्नो प्रेमअनुभव बाँड्दै राउत भन्छिन्, ‘प्रेममा रहेका बेला आफ्नो प्रेमीसँग कहिलेकहीँ नयाँ–नयाँ ठाउँ घुम्न जानु, एकान्तमा समय बिताउनुले पनि असीम आनन्द प्रदान गर्छ ।’ वर्षा ठीकै भनिरहेकी छिन् । जोडीहरूका लागि एकान्त सबैभन्दा प्रीतिकर कुरा हो । पिरतीका कुरा गर्ने, प्रेमीसँग जिस्कने जस्ता कुराले वर्षाको जीवनलाई रंगीन बनाएको छ ।
प्रेम एउटै चरित्रको भए पनि यसलाई अनुभूति गर्ने र प्रेममा जिउने कला अनेक हुन सक्छ । त्यसैले त वर्षाको भन्दा अलि भिन्न प्रेमअनुभूति छ, अभिनेता सविन श्रेष्ठको । सविनको प्रेम अनुभव कस्तो छ ? उनी प्रेम जीवन कसरी जिइरहेका छन् ? श्रेष्ठ भन्छन्, ‘प्रेममा जति आनन्द हुन्छ, त्यति नै तनाव पनि हुन्छ ।’ प्रेमकै कारण कतिपय अवस्थामा मस्तिष्कले काम गर्न छाडेको अनुभव पनि सँगालेका छन् उनले। ‘उनकै मात्र याद आउँदो रहेछ अनि दिनहुँ भेट भैरहे हुन्थ्यो, यो भ्यालेन्टाइन डे भन्ने दिन पनि महिनैपिच्छे आइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ,’ श्रेष्ठ प्रेमले मनभरि उमारिरहेका रोचक अनुभूति बाँड्छन् ।
अभिनेत्री नीता ढुङ्गाना प्रेमका कुराले बेला–बेला चर्चामा आइरहन्छिन् । उनीसँग पनि प्रेमका रोचक अनुभव छन् । नीता भन्छिन्, ‘जब कसैको प्रेममा डुबिन्छ, तब उसको सम्झना नआउने कुनै क्षण हुँदैन ।’ कुनै बेला आफूले प्रेम गरेको मानिससँग केही समय टाढा हुनुपर्यो भने मनमा उदासी छाउने अनुभूति उनको छ । ‘जसलाई धेरै माया गरिन्छ नि, ऊसँग टाढा बस्नुपर्यो भने उसको यादले तड्पाउँछ, अनि रुवाउँछ,’ उनी भन्छिन् । यतिमात्र होइन, प्रेममा खुसी हुने बाटाहरू पनि धेरै छन् । आफूले प्रेम गरेको मानिस के कुरामा खुसी हुन्छ त्यो कुरा गरिरहन मन लाग्छ । त्यसैले नीता भन्छिन्, ‘प्रेममा निराशा र खुसी एक–अर्काका परिपूरक हुन् ।’
युवापुस्तामा रुचाइएकी अभिनेत्री बेनिशा हमाल प्रेम र अफेयर्सका गसिपमा कमै आउँछिन् । बेनिशाको विचारमा कसैसँग प्रेममा पर्दा त्यसले मानिसलाई कस्तो अनुभूति दिलाउँदो होला त ? ‘जिम्मेवार बनाउनुका साथै धेरै कुरा सिक्ने मौका पनि दिन्छ,’ हमाल भन्छिन्, ‘यदि आफूले प्रेम गरेको मान्छे राम्रो पर्यो भने त्यसले आफूलाई थप परिपक्व बनाउँछ ।’ पछिल्लो समय धेरै युवायुवती प्रेमको छनक पाउनेबित्तिकै नयाँ–नयाँ ठाउँ घुम्ने, चलचित्र हेर्न जाने मानसिकता बनाउँछन्, यद्यपि हमाल भने त्यस्ता कुरालाई नकार्छिन् । बेनिशा भन्छिन्, ‘कसैलाई प्रेम गरिसकेपछि सकारात्मक परिवर्तन आउनु महत्वपूर्ण कुरा हो, घुम्न, चलचित्र हेर्न जाने जस्ता कुरा त तपसिलका कुरा हुन् ।’ प्रेम जीवनमा ठाकठुक र झगडाको कुनै स्थान छ ? ‘प्रेममा झगडा हुनु स्वभाविक हो, कहिलेकहीँ आफूले भनेको कुरा प्रेमीले नबुझ्दा र भनेको कुरा नमान्दा झगडा हुनसक्छ,’ नीता भन्छिन्, ‘त्यसैले त्यो झगडालाई फोनमार्फत भन्दा पनि भेटेरै समाधान गर्नु उपयुक्त हुन्छ ।’
प्रेममा रहँदाका अनुभूतिका बारेमा चर्चा गर्दा नेपाली चलचित्रसँग सम्बन्धित थुप्रै सेलिब्रेटीले त्यसको अनुभव लिन पाएका छन् । अहिले त मायाप्रीति गाँस्न भौगोलिक दूरी, शारीरिक निकटताजस्ता पक्षहरू पनि बाधक बन्न छाडिसके । नायिका ऋचा शर्मा पनि यसमा सहमत छिन् । सामाजिक सञ्जालले प्रेमलाई थप खुला र विस्तृत बनाएको उनको धारणा छ ।
आजभोलि धेरैजसोले आफ्नो प्रेम सम्बन्धलाई सामाजिक सन्जालबाटै सार्वजनिक गर्ने गरेका छन् । अभिनेत्री हमाल भने सामाजिक सन्जालमा माया–प्रीति सार्वजनिक गर्ने कुरालाई त्यति उचित मान्दिनन् । ‘कसैसँग प्रेममा बस्नु, कसैलाई माया गर्नु भनेको आफ्नो निजी कुरा हो,’ हमाल भन्छिन्, ‘आफूले कसैलाई माया गरिएको छ भने त्यो कुरा सबैलाई जानकारी गराउनुपर्छ भन्ने जरुरी छैन । यद्यपि कसैले आफ्नो प्रेमलाई सार्वजनिक गर्छ भने त्यहाँ उसले अर्काे पक्षलाई पक्कै पनि सम्मान गरेको होला ।’
हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्ने प्रेमिल जोडी फेला पार्न मुस्किल छ । फेसबुक, इन्स्टाग्राम, भाइबर आदि माध्यमबाट प्रेम साटासाट गर्नेहरूको पनि कमी छैन । प्रेममा पर्दा सबैको आ–आफ्नै भोगाइ एवं अनुभव हुन्छ । प्रेममा रहँदा अधिकांश प्रेमी–प्रेमिका अलिअति फुर्सद हुनेबित्तिकै विभिन्न सुन्दर तथा एकान्त स्थानहरूमा डेटिङ जान्छन् । आफ्नो प्रेमीसँग रमाउँदै दु:ख–सुखका कुरा गर्न रुचाउँछन् । अझ युवायुवतीहरूको गन्तव्य महँगा रेस्टुराँ, पार्क र रमणीय इलाकाहरू हुने गरेको छ । कतिपय जोडी रेस्टुराँका कुनाहरूमा पनि मदमस्त आफ्नो प्रेम साटिरहेका हुन्छन् ।
प्रेममा एउटा त्यस्तो शक्ति हुन्छ जसले मानिसलाई हँसाउन पनि सक्छ र रुवाउन पनि । कुनै पनि मनिसले आफूले मन पराएको मानिससँग आफ्ना भावना साट्न पायो भने उसका लागि त्यो उत्कृष्ट क्षण बन्न सक्छ । गायक कृष्ण काफ्ले भन्छन्– जो जसको प्रेममा डुबेको छ ऊ त्यो मानिससँग नजिक हुन पाए हुन्थ्यो, उसको बोली सुन्न पाए हुन्थ्यो, उसकै कल्पना रमाइ रहन पाए हुन्थ्यो अनि उसकै मायामा डुबुल्की मार्न पाए हुन्थ्यो भन्ने सोच्छ । एउटा प्रेमिल जोडीमा यस्ता कल्पना आउनु स्वभाविक हो ।