साप्ताहिक संवाददाता
सुदूर–पश्चिमको स्वाद
सुदूरपश्चिममा डुप्का, चुकाउनी, माडा, मटन पन्चोली, भड्डुको सिकारजस्ता परिकार निकै लोकप्रिय छन् । नयाँ बानेश्वर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट झन्डै ५ मिनेट पूर्वतर्फ लम्किएपछि पुगिन्छ— डुप्का रेस्टुराँ एन्ड बार । पाँचतारे होटल एलएसजी स्काईमा सेफको अनुभव बटुलेका वसन्त जोशीले सञ्चालन गरेको यो रेस्टुराँमा पोलेको आलु, कापु, पानरोटी, मोहीलाई झानेर बनाइएको छाँछका साथै खसीको खुट्टालाई २४ घन्टा उमालेर तयार पारिएको गौनाको सुरुवा आदि उपलब्ध छन् । रेस्टुराँमा अमरगढी, शुक्लाफाँटा, घनघस्याजस्ता बोर्ड रुम देख्दा आगन्तुकहरूलाई सुदूरपश्चिम नै पुगेको आभास मिल्छ । यो रेस्टुराँले एकपटकमा ६५ जनालाई खाना सर्भ गर्ने क्षमता राख्छ । यो रेस्टुराँसँगै क्याफे पनि सञ्चालन गरिएको छ, जहाँ विभिन्न फास्टफुडसमेत अर्डर गर्न सकिन्छ ।
कटिया हाउस, डिल्लीबजार
रौतहट जिल्लाका गरुडा, गौर, कटहरिया आदि बजारमा पाइने कटियामा पकाएको खसीको मासुको स्वाद विशेष मानिन्छ । कटियाको अर्थ हुन्छ, माटोको भाँडो । एक पटक कटियामा पाकेको स्वाद चाख्नेहरूको जिब्रोमा यसको स्वाद झुन्डिन्छ । अब भने यो स्वाद चाख्न रौतहट नै पुगिरहनु पर्दैन । डिल्लीबजार, कालिकास्थानस्थित कटिया हाउसमा त्यो रहर पूरा हुनेछ । कटिया हाउसका अनुसार यसरी तयार पारिने खसीको मासु प्राकृतिक, स्वस्थ, स्वादिलो एवं पौष्टिक हुन्छ । कोइलाको रापमा पकाइएकाले यसको स्वाद बेग्लै हुन्छ ।
भक्का
चामलको पीठोबाट बनाइने भक्का विशेष गरी पूर्वी नेपालमा लोकप्रिय छ । तराईमा जाडो मौसममा बिहान खाजाका रूपमा खाइने यो परिकार अब काठमाडौंको पुरानो बानेश्वरस्थित भक्का हाउसमा पनि उपलब्ध छ । २०७४ को चैतमा खुलेको भक्का हाउसमा साधारण प्लेन भक्का, गुलियो भक्का र चकलेट भक्का आदि उपलब्ध हुन्छन् । कतिपय दिन १५ हजार रुपैयाँसम्मको भक्का बिक्री भएको भक्का हाउसका सञ्चालक विश्वास काफ्लेले बताए । भक्का हाउसले ३ जनालाई रोजगारी दिएको छ । भक्का हाउसबाहेक अरू व्यवसायीहरूले पनि काठमाडौंका सडकहरूमा भक्का तयार गरेर बिक्री गर्दै आएका छन् ।
काठमाडौंमा घोंगी
थारु समुदायमाझ लोकप्रिय परिकार हो— घोंगी । सानेपास्थित म:म तारु रेस्टुराँमा घोंगी अर्डर गर्न सकिन्छ । यहाँ समुद्री खान्कीको सूचीमा पर्ने घोंगी, चामलको पीठोबाट तयार गरिएको बघिया, माघीमा थारु समुदायमा खाइने ढिक्री, अन्धीभात, माछाको भुटन, कुखुरा, हाँस, परेवा तथा बट्टाईको मासु आदि परिकार उपलब्ध छन् ।