साप्ताहिक संवाददाता
भारतमा प्रदर्शन भएका बलिउडका चलचित्रको तुलनामा हलिउडका चलचित्रको व्यवसाय ह्वात्तै बढेको एउटा सर्वेक्षणले देखाएको छ । पछिल्लो छ वर्षमा बलिउडका चलचित्रको व्यवसाय २८ प्रतिशतले बढेको छ भने हलिउड चलचित्रको बजार १ सय ५७ प्रतिशतले बढेको छ । सन् २०१७ को तुलनामा २०१८ मा बलिउड चलचित्रको बक्स अफिस कलेक्सन करिब १५ प्रतिशतले बढ्यो, जबकी हलिउड चलचित्रको कमाई २१ प्रतिशतले बढी भयो । भारतमा हलिउड चलचित्रले २०१५ मा २०१४ को तुलनामा ४६ प्रतिशत अर्थात करिब ५ सय करोड बढी आम्दानी गर्न सफल भए, जुन पछिल्ला छ वर्षको सबैभन्दा ठूलो अन्तर हो ।
पछिल्ला छ वर्षको ट्ेरन्डलाई आधार मान्ने हो भने भारतमा हलिउड चलचित्रको आम्दानीको रफ्तार बलिउड चलचित्रको भन्दा बढी छ । २०१३ देखि २०१८ सम्म ती चलचित्रको कलेक्सन पाँच गुणाले वृद्धि भएको बताइन्छ । यही ट्ेरण्ड कायम रह्यो भने यो वर्ष हलिउडका चलचित्रले भारतमा मात्र डेढ हजार करोडको आँकडा पूरा गर्नेछ । फिल्म ट्ेरड एनालिस्ट कोमल नाहटाका अनुसार भारतमा हलिउड चलचित्रको स्वीकार्यता बढिरहेको छ ।
पहिले ती चलचित्र ठूला सहरहरूमा मात्र सीमित थिए, तर अहिले धेरैवटा साना सहरमा समेत प्रदर्शन हुन थालेका छन् । हलिउड चलचित्र रुचिकर तथा रोचक हुनाले पनि दर्शकहरूको रुचि बढेको हो । हलिउडका चलचित्रले प्रसस्त सिनेमा हल पनि पाइरहेका छन् । यसबाहेक युवा वर्गले इन्टरनेटमै चलचित्र हेरिरहेका छन् । समिक्षक अतुल मोहनका अनुसार मिसन इम्पोसिवल तथा स्पाइडरम्यान जस्ता चलचित्र भारतमा निकै लोकप्रिय भए । साइन्स फिक्सन, एक्सन तथा एड्भेन्चरकै कारण ती चलचित्र सफल भएका हुन् ।
भारतमा हलिउडका चलचित्रको आम्दानी बढ्नुमा धेरै स्क्रिन पाउनु मुख्य कारण भएको बताइन्छ । यतिबेला भारतमा दुई हजारवटा स्क्रिन छन् । हलिउड चलचित्रप्रतिको आम रुचिका कारण मल्टिप्लेक्सहरूले ती चलचित्रलाई बढीभन्दा बढी पर्दा उपलब्ध गराइरहेका छन् । शहरी क्षेत्रमा त अझ बढी शो दिने गरिएको छ ।
भारतमा प्रत्येक वर्ष विभिन्न स्थानीय भाषामा बन्ने चलचित्रको संख्या एक हजारभन्दा बढी छ, जबकि हलिउडमा त्यसको आधा मात्र चलचित्र बन्छन् जसमध्ये करिव दुई सय चलचित्र भारतसहित विश्वभरी नै प्रदर्शन हुन्छन् । यति हुँदा पनि लगानी, दर्शक संख्या तथा आम्दानीको प्रसंगमा हलिउड नै अगाडि छ ।
भारतमा एउटा चलचित्र औसत १५ देखि २५ करोडमा निर्माण हुन्छ, जबकि हलिउडमा यो ४ सय करोड रुपैयाँ प्रतिचलचित्र छ । भारतको कुल जनसंख्याको केवल ४ प्रतिशत मानिस मात्र नियमित थिएटर जान्छन्, जबकि हलिउड चलचित्रका दर्शक विश्वभर छन् ।