साप्ताहिक संवाददाता
चैत १ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित चलचित्रको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ ।
‘ह्यान्डसम भिलेन’ को उपमा पाएका अनुपविक्रम शाहीले यो चलचित्रमा दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ‘बुलेट राजा’ र वर्षालाई ‘बुलेट रानी’ का रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
यसै साता राजधानीमा आयोजना गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता अनुपले यो चलचित्रबाट आफू निक्कै आशावादी रहेको बताएका छन् । चलचित्रमा फरक खालको भूमिका निर्वाह गरेको समेत उनले उल्लेख गरेका छन् ।
यो चलचित्रमा कथा तथा पटकथा निर्देशक भीषण र सन्तोष राईको रहेको छ । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले सयुक्त रुपमा लगानी गरेका छन् ।
‘पुरानो बुलेट’मा उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ । हरि घले लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको यो चलचित्रमा पुर्बी नेपालको टिपिकल कथा पेश गरिएको निर्माण टिमको भनाई छ ।
पुरानो बुलेटको ट्रेलर :