साप्ताहिक संवाददाता
एक समय रेशम थापाले गाएको ‘रुमालै छ चिनो’ बोलको गीत निक्कै चर्चित थियो । त्यो ताका अक्सर यो गीत दसैंदेखि तिहारसम्म निक्कै बज्थ्यो । अहिले यहि नामलाई सापटी लिएर ज्योती फिल्मस् ले चलचित्रनै निर्माण गरेको छ । चलचित्र ‘रुमालै छ चिनो’ यसै साता प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की, अप्सना थापा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रकी अभिनेत्री मध्येकी अप्सना थापाले चलचित्र निक्कै राम्रो बनेको बताएकी छिन् । उनले यो चलचित्रले लाहुर गएका प्रेमी वा श्रीमान सम्झना र अभावमा स्वदेशमा रहेका प्रेमीका वा श्रीमतीले भोग्ने पीडालाई चलचित्रले उठान गरेको बताएकी छिन् ।
उनी यो चलचित्रलाई लिएर निक्कै आशाबादी समेत देखिएकी छिन् । अप्सनाले चलचित्र हेरेर दर्शकले आफ्नो भूमिकालाई मन पराउने दाबी गर्छिन् । चलचित्रले लाहुरे नेपालीको ब्याथा बोल्ने अप्सनाको भनाई छ । तर, यो चलचित्रमा अभिनय गरेका अन्य कलाकार भने प्रचारमा देखिएका छैनन् ।
चलचित्रका निर्देशक दिनेश सिंह ठकुरीले विदेशमा हुने युद्धमा नेपाली यूवाहरुले कसरी आफ्नो विरता देखाएका छन् भन्ने कथामा चलचित्र बनेको उल्लेख गरेका छन् । उनले यो चलचित्र बनाउँदा आफूले अध्ययन समेत गरेको बताए । चलचित्रमा प्रेम, रोमान्स, भावना, वियोग सबै कुरा समावेश गरिएको ठकुरीले बताएका छन् । उनले यो चलचित्र सिंगल थिएटर केन्द्रित भएको समेत स्पष्ट पारे ।
चन्द्र बहादुर खड्काको लगानीमा तयार भएको चलचित्रका दिपक ढकाल र रामप्रसाद पाण्डे सह–निर्माता हुन् ।