साप्ताहिक संवाददाता
चलचित्र ‘गोपी’ युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । चलचित्रका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले काठमाडौं एक कार्यक्रम गर्दै विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
सहभागीले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता सिर्जना गरेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनु अघि’ले सर्वोत्कृष्ट हुँदै प्रथम पुरस्कार जितेको थियो । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविताले तृतीय पुरस्कार जित्न सफल भएका थिए ।
प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् ।
आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।
उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वना पुरस्कार स्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ । सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ रहेका छन् ।