पहिलो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ बाटै आफूलाई नायकका रूपमा प्रमाणित गरे धीरज मगरले । युट्युबरको परिचय बनाएका धीरजका सयौं भ्लग युट्युबमा उपलब्ध छन् । ट्राभल, एड्भेन्चर, रियाक्सन आदि भिडियो अपलोड गरेर चर्चित भैसकेका धीरजले ‘इन्टु मिन्टु लन्डनमा’ को प्रदर्शनपश्चात् आफूलाई नेपाली चलचित्रमा बलियो सम्भावना बोकेको नायकका रूपमा उभ्याएका छन् । सामाजिक सञ्जालमा अत्याधिक फ्यान फ्लोअर्स भएका धीरज युकेमा बस्छन् । विदेशमा आर्जन गरेको अध्ययन, सीप, कौशल एवं संस्कृतिलाई नेपाली चलचित्रमा प्रयोग गर्ने अठोट बोकेका धीरजसँग साप्ताहिकको जम्काभेट :
युट्युबरका रूपमा आफूलाई प्रमाणित गरिसक्नुभएको छ, पहिलो चलचित्रमै प्राप्त यो सफलतालाई कसरी लिनुहुन्छ ?
युट्युब मेरो जननी हो, जहाँबाट मैले क्यामेरा फेस गर्न सिकें, आफ्नो क्रिएटिभिटी देखाउन पाएँ । फलस्वरूप सबैको साथ पनि प्राप्त भयो । पहिलो चलचित्रबाटै पाएको यो अभूतपूर्व मायालाई आफ्नो विश्वास र सम्भावनाका रूपमा लिएको छु । अब मसँग सारा नेपालीको साथ छ, उहाँहरूको विश्वासलाई चलचित्रमार्फत निरन्तर प्रगाढ बनाइरहनेछु ।
मन परेका तीन नायक–नायिका ?
नायक : अनमोल केसी, प्रदीप खड्का तथा सलिनमान बानियाँ ।
नायिका : साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ र पूजा शर्मा ।
मन परेका तीन चलचित्र ?
रोमियो एन्ड मुना, अमेरिकन ब्वाइज तथा इन्टु मिन्टु लन्डनमा ।