साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री प्रियंका चोपडाको वाक्स स्ट्याच्यु अमेरिकाको न्यूयोर्कस्थित मेडम तुसाद म्युजियममा सजिइसकेको छ । त्यससँगै प्रियंकाको स्ट्याच्यु अब लण्डन, सिड्नी, बैंकक तथा सिंगापुरमा पनि सजिनेछ । बलिउडमा देसी गर्ल उपनामले प्रख्यात प्रियंकालाई अचेल ग्लोबल आइकन पनि भनिन्छ ।
प्रियंकाले बलिउडदेखि हलिउडसम्म आफ्नो एउटा बेग्लै छवि निर्माण गरिसकेकी छिन् । प्रियंकाको नाम अब ती सेलिब्रेटीसँग जोडिएको छ, जसको स्ट्याच्यु विश्वका प्रमुख सहरहरूमा सजिनेछ । यसबाहेक प्रियंकाले अर्को एउटा विशेष उपलब्धि पनि आफ्नो नाममा बनाएकी छिन्, जसबाट उनी भारत र अमेरिकामात्र होइन थुप्रै एसियाली देशहरूमा समेत चिनिने छिन् ।
हलिउड गायिका विट्नी हस्टनपछि प्रियंका नै त्यस्ति सेलिब्रेटी बन्दैछिन्, जसका विश्वभरीमा छ वटा स्ट्याच्यु बन्ने छन् । हालै मात्र अमेरिकी गायक निक जोन्ससंग वैवाहिक जीवनमा बाँधिएकी प्रियंका अहिले पुन: काममा फर्किसकेकी छिन् ।
यतिबेला उनी आफ्नो नयाँ हलिउड चलचित्रको प्रचार–प्रसारका साथै शोनाली बोसको चलचित्र द स्काइ इज पिंकको छायांकनमा व्यस्त छिन् । प्रियंकाको हलिउड चलचित्र इजन्ट इट रोमान्टिक यही भ्यालेन्टाइन्स डेको अवसर पारेर प्रदर्शनमा आएको छ ।