पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन विगत १० वर्षदेखि जापानमा छन् । जापानमा फन्ड रुट्स एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत गौचन गत साता पोखरामा आयोजित पोखरा कपका लागि रिस्सो युनर्भिसिटीको टिमसहित देखा परे । वसन्तले नेपाल र जापानको फुटबल वातावरण फरक भएको बताए ।
जापानमा सिस्टम छ, त्यहाँ सानै उमेरदेखि फुटबल खेल्न थालिन्छ । जापानमा अन्डर–६, अन्डर–८, अन्डर–१० तथा अन्डर–१२ को प्रतिस्पर्धा हुन्छ । नेपालमा पनि अहिले सानैदेखि फुटबल सिकाउन थालिएको छ, यो राम्रो कुरा हो तर प्रशिक्षण मात्र भएर हुँदैन, प्रतियोगिता पनि हुनुपर्छ ।
अन्डर–१०, अन्डर–१२ का प्रतियोगिता गर्न सके मात्र नयाँ खेलाडी उत्पादन सहज हुन्छ,’ गौचनले भने । गौचनले जापानमा हुने अन्डर–१२ फुटबलका लागि बर्सेनि नेपाली खेलाडीलाई जापानमा अवसर उपलब्ध गराउन पहल गर्दै आएका छन् ।
यो वर्ष पनि १२ जना अन्डर–१२ का नेपाली खेलाडी मार्चमा जापान जाँदैछन् । यसरी छनौट गरेर फुटबल खेल्न लान लागिएको यो चौथो अवसर हो । छानिएका खेलाडीले विभिन्न देशबाट छनौट भएर जापान पुग्ने ४० वटा टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।