साप्ताहिक संवाददाता
अभिनेता प्रदिप खड्काले चलचित्र ‘कबड्डी’को तेस्रो सिरिजमा काम गर्ने भएका छन् । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी’का दुई सिरिजले नेपाली सिने उद्योगमा राम्रै चर्चा पाएका थिए । यो चलचित्रको तेस्रो सिक्वेलबाट चकलेटी अनुहारका कारण चर्चामा रहेका प्रदिप खड्काले इन्ट्री गर्ने भएका हुन् ।
तर, उनीसँग चलचित्रका लागि लिखित सहमती भने नभएको निर्देशकले बताएका छन् ।
तर, यो चलचित्रमा प्रदिपले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाहा गरेको खालकै भूमिका निर्वाह गर्ने बताइएको छ । प्रदिपको बिषयमा निर्देशक रामबाबु गुरुङले भने–‘प्रदिपसँग मौखिक सहमती मात्र भएको हो । हामीले लिखित सहमती नगरेका कारण पनि प्रदिप पक्का भन्न सकेका छैनौँ ।’
यो चलचित्र आगामी जेठबाट छायांकनमा जाने बताइएको छ । चलचित्रमा दयाहाङ राइले पनि अभिनय गर्ने छन् ।