साप्ताहिक संवाददाता
सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा लोक गीतसंगीतनै नेपालको मौलिक पहिचान र चिनारी भएको उल्लेख गरिएको छ । प्रोमोमा शोका निर्णायकहरु, जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी देखिएका छन् ।
जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुने लोकस्टारको अडिसन लोकेशन पनि प्रोमोमा समेटिएको छ । सातवटै प्रदेशमा प्रतिभा ‘हन्ट’ गर्न लोकस्टारले अडिसन गर्दैछ ।
प्रदेश नं. ७ को धनगढी (कैलाली बहुमुखी क्याम्पस)मा फागुन १६ गते, प्रदेश नं. ६ को सुर्खेत (मध्यपश्चिमाञ्चल विश्वविद्यालय)मा फागुन २० गते, प्रदेश नं. ५ को वुटवल (एभरेष्ट सेकेण्डरी स्कुल)मा फागुन २५ गने अडिसन हुनेछ । यस्तै प्रदेश नं. ४ को पोखरा (जनप्रिय उच्च माध्यामिक विद्यालय)मा चैत २ गते, प्रदेश नं. १ को इटहरी (पिस जोन हाइयर सेकेण्डरी स्कुल)मा चैत ११ गते, प्रदेश नं. २ को जनकपुर (आरआरएम क्याम्पस)मा र प्रदेश नं. ३ को काठमाडौं (इङ्लिस प्रिपरेटोरी स्कुल)मा चैत २३ गते अडिसन हुनेछ ।
आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले शो आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनी भन्छन् ‘कार्यक्रम तयारीको अन्तिम चरणमा आइपुगेका छौं, यही फागुन १६ गतेबाट अडिसन सुरु हुँदैछ ।’
डिजिटल अडिसन भने पुस १ गतेबाट सुरु भइसकेको छ । नेपाल लोक स्टारको मोबाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए ।
अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । अडिसनबाट ३२० देखि ४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने छ । अडिसनका लागि दुई जना म्युजिक टिचर, १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले प्रि–अडिसनबाट आएकाहरुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्नेछन् ।
काठमाडौंमा हुने मेगा अडिसनबाट ७० देखि ११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने छन् । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ ।
चाहना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले करसहित नगद ५० लाख रुपैयाा पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाा (करसहित) पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को लागत खर्च साढे १५ करोड हुने आयोजकको अनुमान छ ।
लोकस्टारको प्रोमो :