साप्ताहिक संवाददाता
यो वर्षको भ्यालेन्टाइन डे अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइरालाका लागि विशेष रह्यो । झण्डै सात वर्ष लामो प्रेम सम्बन्धलाई प्रेम दिवसकै दिन विवाहको स्वरुप प्रदान गर्दै कोइराला परिवारको बुहारी बन्ने वर्षाको निर्णयलाई कतिपयले ‘हतार’ पनि भनेका छन् कतिपयले जे भयो, राम्रै भयो समेत भने ।
विवाहको पूर्वसन्ध्यामा सञ्चारकर्मीहरूले वर्षासमक्ष विवाहपछि उनको भावी करियरका सम्बन्धमा जिज्ञासा राखेका थिए । वर्षाले ती जिज्ञासाको जवाफ दिँदै भनिन्–‘विवाहपछि पनि म अभिनयलाई निरन्तरता दिइरहने छु, चलचित्रबाट टाढा जाने छैन ।
म आफ्नो पेशा बुझ्ने घरमा जाँदैछु, मलाई विवाहपछि पनि काम गर्न कुनै रोकटोक हुने छैन ।’ संजोगको घरमा वर्किङ भिसामा जान लागेको सञ्चारकर्मीहरूको प्रतिक्रिया सुनेपछि वर्षाले जवाफ दिइन्– ‘म संजोगको घरमा नोकर हुन जान लागेकी होइन, बुहारी भएर जान लागेकी हुँ ।’
वर्षासँग रहेका संजोगले पनि वर्षाको कुरामा सहमति जनाउँदै थपे– ‘हाम्रो परिवारले कामलाई धर्म मान्छ, त्यसैले वर्षाको धर्म परिवर्तन गरिँदैन । विवाहपछि उनले अझ उत्कृष्ट चलचित्रमा अभिनय गर्ने छिन् ।’