साप्ताहिक संवाददाता
नेपाली फुटबलले पाएको सबैभन्दा ठूला स्टार मानिन्छन्— हरि खड्का । उनकै नाममा छ, नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गरेको कीर्तिमान । खेलाडी छँदा उनी नेपाली टिममा पर्ने नियमित खेलाडी थिए नै, सँगै उनले कप्तानीसमेत गरे । उनकै समयमा पुलिसको टिमले लगातार एकपछि अर्को प्रतियोगिता जितेको थियो । पुलिस फुटबलको इतिहासमा उनी सहभागी टिमलाई अहिलेसम्मकै उत्कृष्टमध्ये एक भन्न सकिन्छ । खेल्न छाडेपछि उनी प्रशिक्षक भए— पुलिस टिमकै, तर उनी जति सफल खेलाडी थिए, उत्तिकै असफल प्रशिक्षक सावित भए ।
खड्काको नेतृत्वमा पुलिस टिमले जति पनि प्रतियोगिता खेल्यो, त्यसमा कहिल्यै राम्रो गर्न सकेन । पछि उनले पुलिस छाडे र उनलाई जिम्मा दिइयो, नेपाली महिला राष्ट्रिय फुटबल टिमको । हरिको भाग्यले कसरी कोल्टे फेरेको छ भने अब उनी नेपाली महिला राष्ट्रिय टिमका सबैभन्दा सफल प्रशिक्षक सावित भएका छन् ।
उनकै नेतृत्वमा हालै नेपालले भारतको भुवनेश्वरमा हिरो गोल्डकप खेल्यो र उप विजेता भयो । भारतसँगै म्यानमार र इरान पनि सम्मिलित उक्त प्रतियोगितामा नेपालले फाइनल यात्रा तय गर्नेछ भनेर कसैले पनि अपेक्षा गरेका थिएनन्, तर नेपालले सबै आलोचकलाई गलत सावित गर्दै लिग चरणमा भारत र इरानलाई हरायो । नेपाल फाइनलमा भने बलियो म्यानमारसँग पराजित भयो । नेपाल लिग चरणमा पनि म्यानमारसँगै पराजित भएको थियो । लिग चरणमै नेपालले भारतविरुद्ध प्राप्त गरेको जित महिला फुटबल इतिहासमै पहिलो थियो, त्यो पनि उसकै भूमिमा ।
नेपालले हरिको नेतृत्वमा राम्रो गरेको यो पहिलो अवसर भने होइन । यसअघि नेपाली महिला टिमले एएफसी वुमन्स ओलम्पिक छनौट–२०२० पनि खेलेको थियो र त्यसमा पनि दोस्रो चरण प्रवेश गर्न सफल भयो । अब नेपालसामु हुनेछ, विराटनगरमा हुने वुमन्स साफ च्याम्पिनसिपको चुनौती । तय छ, नेपाली खेलाडीहरू यो प्रतियोगिताका लागि निकै उत्साहित छन् र त्यसको एउटा कारण सफल प्रशिक्षक हरि पनि हुनेछन् ।