साप्ताहिक संवाददाता
एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेका अभिनेता हुन् राजेश हमाल । लामो समय कला यात्रामा सक्रिय जीवन व्यतित गरेका हमाल पछिल्ला केहि वर्ष यता चलचित्रमा देखिएका छैनन् । उनले पछिल्लो समय अभिनय गरेका चलचित्र ‘सकुन्तला’ र ‘बागमती’ले चलचित्र उद्योगमा मुनाफा कमाउन नसकेसँगै उनी चलचित्रमा देखिएका छैनन् । तर, बेला बेला उनी चलचित्र निर्देशकका रुपमा सिने उद्योगमा देखा पर्ने खबर भने सार्वजनिक भैरहेका छन् ।
उनै अभिनेता राजेश हमालले फरक खालको चलचित्रको तयारी गरिरहेको बताएका छन् । बाग्मती र सकुन्तलामा दर्शकले आफ्नो भूमिका नरुचाएपछि आफू फरक भूमिकाको तयारीमा रहेको उनको भनाई छ । ‘पछिल्लो समय मैले अभिनय गरेका वागमती र सकुन्तला दुबै चलचित्र राम्रो भएन,’ हमालले एक टेलिभिजन शोमा भने, ‘त्यसपछि मैले सोचेँ कि अहिले हामी जुन नयाँ तरिका नयाँ टेक्निक भनिरहेका छौं, त्यही ढङ्गबाट जाउँ भन्ने सोचिरहेको छु ।’
अहिले पनि विभिन्न चलचित्रबाट अफरहरु आइरहेको भन्दै उनले अब विषयबस्तु, टिम र रोल राम्रो भएका चलचित्रमा मात्रै काम गर्ने सोचमा रहेको हमालले बताएका छन् । चलचित्र ‘सकुन्तला’लाई दिनेश श्रेष्ठले निर्देशन गरेका थिए । जसमा राजेश तेस्रोलिंगी महिलाको भूमिकामा थिए । ‘वागमती’ सन्नी केरेलाले निर्देशन गरेको चलचित्र हो ।