पाल्पाका १४ वर्षीय सचिन सिंजालीको हत्या आरोपी बेनी काले भनिने कुमार दर्जी (परियार) पक्राउ परेका छन् । सचिनको शव पोखरा–६, लेकसाइड, खहरेमा निर्माणाधीन घरको भुइँतलामा फेला परेको थियो । सचिन पाल्पा जिल्ला रम्बापानी गाउँपालिका घर भै लेकसाइड शान्तिनगर पोखरामा डेरा गरी बस्ने जितबहादुर सिंजालीका कान्छा छोरा हुन् । पर्वत जिल्लाको मल्लाजका २१ वर्षीय कुमार हत्याको मुख्य आरोपी भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । घटना भएको थाहा पाउनेबित्तिकै वडा प्रहरी कार्यालय, बैदामका प्रमुख नवीन कार्कीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।
कास्की प्रहरीले केटीको विषयमा सामान्य भनाभनपछि हत्या भएको जनाएको छ । उक्त घटनामा संलग्न बेनी कालेलाई घटना भएको केही घण्टामै नियन्त्रणमा लिएर केरकार गर्दा हत्या गरेको स्वीकार गरेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । दोषीउपर कर्तव्य ज्यानमुद्दा दर्ता गरी थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने एसपी रानाले बताए ।
मृतकका बाबु जितबहादुर सिंजालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस सञ्चालन गर्दै आएका छन् । बाबु जितबहादुरले सचिन प्रायः उनकी आमासँग हल्लनचोकमा बस्ने कुरा बताए । ‘हिजो बिहान पसलमा आएको थियो, बिहान १० बजेसम्म मसँगै थियो, एक्कासि यस्तो घटना घटेछ, घटनामा दोषी उपर कारबाही गर्न माग गर्छु,’ उनले भने । १२ वर्षदेखि श्रीमतीसँग बोलचाल नभएका कारण आफूहरू छुट्टाछुट्टै बस्दै आएको उनले जनाए । उनका दुई छोरामध्ये सचिन कान्छा हुन् । रेखदेख गर्ने व्यक्ति नभएका कारण पनि सचिनको रात सडकमै बित्थ्यो । सचिनकी आमाले लेकसाइडको हल्लनचोकमा स्पा सञ्चालन गर्दै आएकी छन् ।
घटना विवरण
घटनाका मुख्य आरोपी कुमार दर्जी (परियार) , मोटे भनिने सुसान्त परियार, डल्ली भनिने १५ वर्षीया सुनिता गुरुङ माघ २८ गते सोमबार दिउँसो ४ बजेतिर रक्सी पिएर बसेका थिए । सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली पनि आए र उनीहरू सँगै रक्सी पिउन थाले । साढे ४ बजेतिर लेकसाइडको सेन्टरप्वाइन्टभित्र मृतक सचिन, कुमार र सुनिता छ्याङ खान पुगेका थिए । त्यसपछि उनीहरू साँझ ५ बजे देखि ७ बजेसम्म सेन्टरप्वाइन्टमा पैसा माग्न बसे । बेलुका ७ देखि ९ बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसँग उनीहरूको भेट भयो । उनीहरू ९ बजेसम्म त्यही टहलिए । ९ बजेपछि त्यहाँबाट निस्किएर मृतक सचिन, कुमार, सुनिता, सुशान्त र शुकदेव लेकसाइड खहरेमा निर्माणाधीन घरको भुइँतलामा पुगी डेन्ड्राइट सुँघ्न थाल्छन् । सोही क्रममा सचिन सुनितासँग कुरा गर्न लाग्छन् ।
उनले सुनितासँग विवाह गर्ने कुरासमेत गर्छन् । यो कुरा सँगै रहेका कुमारले सुन्छन् । कुमार पनि सुनितालाई मन पराउँथे । आफूले मन पराएकी केटीसँग सचिनले त्यस्तो कुरा गरेपछि कुमारलाई असह्य हुन्छ, तर त्यहाँ उनी चुपचाप बस्छन् । राति साढे १० बजेतिर सुनिता सुत्न भनी पृथ्वीचोकतिर गएपछि कुमार, सचिन, सुशान्त र शुकदेव फेरि लेकसाइड बिजिबी अगाडि बसेर पैसा माग्छन् । मध्यराति १२ बजेतिर उनीहरू पुन सुत्ने स्थान (घटनास्थल) पुगी २ बोतल बियर र स्याउको रक्सी (बटारे) पिउँछन् । उनीहरूले २ जना बालकलाई तिमीहरू सुत भनी सुत्न लगाउँछन्, तर ती बालकहरू भने ननिदाइ बसेका हुन्छन् । कुमार र सचिनबीच सुनिताको विषयमा विवाद हुन्छ । नसाको तालमा रहेका दुवै जनाले आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्दैनन् अनि सचिनले आफूसँग भएको सानो हाते चक्कु निकाली आरोपी कुमारको खुट्टामा प्रहार गरी घाइते बनाउँछन् ।
शारीरिक रूपमा बलिया कुमारले सचिनको चक्कु खोसी उनलाई घोप्टो पारी घाँटी सेर्छन् । फेरि त्यही चक्कुले पेट तथा ढाडमा दुई–तीन पटक प्रहार गर्छन् राति पौने १ बजे २ जना बालक लिएर उनी ट्याक्सी रिजर्भ गरी पृथ्वीचोकमा झरी शान्तिवन बाटिका जाने बाटोभित्र चक्कु ढुंगाले छोपेर पुनः पृथ्वीचोकमा फर्कन्छन् । त्यसपछि कुमार सवा २ बजे ट्याक्सीमै घटनास्थल पुग्छन् । सचिनको मृत्यु भैसकेको देखेपछि उनी लासलाई उत्तानो बनाई बाहिर निस्कन्छन् । त्यहाँ ट्याक्सी रोकी प्रहरीलाई खबर गर्न भन्छन् । एक ट्याक्सी चालकले सेन्टरप्वाइन्टमा आई प्रहरीलाई १०० नम्बरमा फोन गरी खबर गर्छन् ।
प्रहरीले घटनास्थलमा पुगी अनुसन्धान सुरु गर्छ । अनुसन्धान थालेसँगै प्रहरीले माघ २९ गते बिहान बेनी कालेलाई लेकसाईडबाट समात्छ । यसैगरी शुकदेव बराहीघाटबाट तथा सुशान्त न्युरोडबाट पक्राउ पर्छन् । घटनास्थलनजिकै राखिएको सिसी क्यामेरा फुटेजका आधारमा प्रहरीलाई अनुसन्धान गर्न थप सहज भएको बताइन्छ ।