साप्ताहिक संवाददाता
राप्रपा अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ बजारमा आएको छ । यसै साता थापाले आफ्नो उक्त एल्वम सार्वजनिक गरेका हुन् । राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन भएको हो ।
गीतिसंग्रहको शीर्ष गीतको रुपमा रहेको ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भइ सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीले गाएका छन् ।
कार्यक्रममा कमल थापाले विभिन्न सातवटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा प्रसन्नता व्यक्त गरे । उनले यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके आफूलाई सन्तोष मिल्ने उल्लेख गरे ।