साप्ताहिक संवाददाता
अचेल नेपाली क्रिकेटमा करण केसी डे मनाउने क्रम सुरु भएको छ, त्यो पनि भ्यालेन्टाइन डेकै दिन । जति बेला सारा विश्व भ्यालेन्टिनाइन डे मनाउन व्यस्त थियो, नेपाली क्रिकेट खेलाडीहरू भने करण केसी डे मनाइरहेका थिए । नेपाली टिमका कप्तान पारस खड्काले पनि फेसबुकमा करण केसी डेको शुभकामना दिइहाले । धेरै अरूले पनि त्यसै गरे । एक वर्ष मात्र भयो, यस्तो क्रम सुरु भएको । के हो त यो करण केसी डे ?
ठीक एक वर्षअघि नामिबियामा आईसीसी वल्र्ड क्रिकेट सिरिज डिभिजन टु भैरहेको थियो । फेब्रवरी १४ कै दिन नेपालको खेल थियो, क्यानाडाविरुद्ध । नेपालका लागि त्यो जित्नै पर्ने खेल थियो, अन्यथा नेपालको सबै खाले सम्भावना समाप्त हुने निश्चित थियो । क्यानाडाले पहिले ब्याटिङ गरेर नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत ग¥यो । जवाफी ब्याटिङमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । करण ब्याटिङका लागि मैदानमा ओर्लिदा नेपाल १ सय ४४ रनमा ८ विकेट गुमाएको स्थिति थियो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो । यस्तोमा अन्तिम विकेटमा नेपालले ४२ बलभित्र ५१ रन बनाउनु पर्ने थियो । नेपाल हारको सँघारमा थियो । त्यही बेला करणले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक महत्वपूर्ण (अब्बल दर्जाको) इनिङ्स खेले । उनले अविश्वसनीय रूपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरे र लगातार रन बटुलिरहे ।
अन्तिम दुई ओभरमा पनि नेपाललाई असम्भव जस्तै देखिने २१ रन चाहिएको थियो । त्यसमा करणले ४९ औं ओभरमा १–१ चौका र छक्का प्रहार गरे । यस्तोमा अन्तिम ओभरमा ८ रन चाहिने भयो । उक्त ओभरमा उनले १ छक्का प्रहार गरेपछि नेपाललाई ठूलो राहत प्राप्त भएको थियो । अन्ततः नेपाल दुर्लभ जित निकाल्न सफल भयो । त्यही जितपछि नेपालले वान डे टिमको मान्यता पनि पायो । त्यसपछि के भयो, त्यो त सबैलाई थाहै छ ।