साप्ताहिक संवाददाता
आईकोर फिल्म्सको ब्यानरमा दश वर्ष अघि निर्माण भएको चलचित्र मेरो एउटा साथी छ को सिक्वेल बन्ने पक्का भएको छ । उक्त चलचित्रका निर्माता प्रज्जवल शम्सेर राणाले उक्त चलचित्रको सिक्वेल निर्माण गर्ने जानकारी दिए । निर्माता राणाले भने, ‘काम सुरु गरिसकेका छौं, त्यसैअनुसार हामी चाडैं छायाँकनमा जानेगरि काम सुरु गरिरहेका छौं ।’
चलचित्र निर्माण टिमले निर्देशक दिनेश राउतसँग कगजी सम्झौता गरेको छ । टिमले निर्देशक राउतलाइनै कलाकार छान्ने जिम्मेवारी दिएको वुझिएको छ ।
चलचित्र मेरो एउटा साथी छ मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए भने जीवन लुईटेल र दयाहाङ राईजस्ता कलाकार सहायक भूमिकामा थिए । यहि चलचित्रबाट दिनेश राउतले सह–निर्देशनको रुपमा काम गरेका थिए । निर्देशक राउतद्धारा निर्देशित प्रसाद यस वर्षको सर्वाधिक हिट चलचित्र समेत हो ।
अहिले निर्देशक राउतसहित निर्माण टिम चलचित्रको कथा, पटकथाको काममा ब्यस्त छ । निर्देशक राउतले सिक्वेल चलचित्रलाई अघिल्लो चलचित्रको तुलनामा अझ राम्रो बनाउने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘मलाई जुन विश्वासका साथ कामको जिम्मेवारी दिनुभएको छ त्यसलाई कुनैपनि हालतमा गम्भिर भएर लाग्नेछु र मेरो आफ्ना चलचित्र मन पराउने दर्शकलाई निराश नबनाउने पनि जानकारी गराउ“छु ।’ उनले हाल स्क्रिप्टको काम भैरहेकाले मुख्य कलाकार को–को हुने भन्ने पक्का नभएको बताए ।
चलचित्र छायांकनमा जानका लागी अझैं ६ महिनाजति लाग्ने निर्माण टिमले बताएको छ ।