पुष्प खड्का, अभिनेता
तपाईं भिडियोको मोडल कि चलचित्र अभिनेता ?
म विसुद्ध कलाकार । यद्यपि भिडियोमा अभिनय गरेका बेला मोडल चलचित्रमा अभिनेता ।
अचेल भिडियोमा देखिनु हुन्छ नि ?
चलचित्र मारुनीमा आबद्ध भएदेखि नै भिडियोमा काम गरेको छैन । पछिल्ला तीन महिनामा जम्मा एउटा भिडियो गरें ।
भिडियोबाटै आएको कलाकार, त्यो विधाको माया लाग्दैन ?
असाध्यै लाग्छ नि । चलचित्रमा व्यस्त भएका बेला भिडियोमा अभिनय गर्दा दर्शक झुक्किनुहुन्छ भन्ने डरले पनि कम गरेको हो ।
भिडियो बनाउने प्रचलन नभएको भए तपाईं अभिनयमा आउनुहुन्थ्यो ?
अवश्य आउँथे । संघर्ष बढी गर्नुपथ्र्यो होला, तर म चलचित्रमा आएरै छाड्थें । म्युजिक भिडियोले चलचित्रसम्म आउने बाटो सहज बनाइदिएको चाहिँ पक्कै हो ।
मारुनीमा कस्तो भूमिका छ ?
अघिल्ला चलचित्रको तुलनामा पृथक् भूमिका छ । यही चलचित्रका लागि ज्यान बनाउनुपर्ने भएकाले अहिले दिनको तीन–चार घण्टा जिम गर्दैछु ।
दाल, भात, तरकारीमा तपाईंको भूमिका कस्तो छ ?
असाध्यै सन्काहा क्यारेक्टर निर्वाह गर्दैछु । जहिले पनि आमा–बुवासँग घुर्की लगाउने, गर्लफ्रेन्डसँग बिन्दास भएर घुम्ने ।
वास्तविक जीवनसँग मेल त खाँदैन नि ?
हो, एक प्रतिशत पनि मेल खाँदैन ।
मंगलमपछि अफ बिट भूमिकाका लागि प्रस्ताव आएको छैन ?
ठ्याक्कै अफबिट चलचित्रबाट त प्रस्ताव पाएको छैन, यद्यपि मलाई समाजमा देखिइरहने भन्दा फरक चरित्र निर्वाह गर्न मन लाग्छ ।
अबको २० वर्षपछि तपाईंलाई कहाँ पाइएला ?
आफूलाई भर्सटायल अभिनेताका रूपमा स्थापित गराएर चलचित्र क्षेत्रमै रमाइरहेको हुनेछु ।
अभिनय करियर कि प्यासन ?
दुवै ।
तपाईंको कमजोरी ?
स्वर बोल्ड भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
फुर्सदमा ?
जिम गर्छु, चलचित्रहरू हेर्छु ।
खानपिनमा कत्तिको सौखिन हुनुहुन्छ ?
पटक्कै छैन । खानपिनमा चिल्लो र गुलियो बर्जित गरेको छु ।
गर्लफ्रेन्डसँग कत्तिको घुमफिर गर्नुहुन्छ ?
म अहिलेसम्म गर्लफ्रेन्डकै खोजीमा छु ।
जीवनमा कति पटक ब्रेकअप भयो ?
लभ परेको भए पो ब्रेकअप हुनु त ।