साप्ताहिक संवाददाता
फाल्गुन १७, २०७५
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हरेक साताजसो कुनै न कुनै कुराले चर्चामा आइरहन्छिन् । यसपटक उनी चलचित्र मारुनीका कारण चर्चामा छन् । नवल नेपालले निर्देशन गर्ने उक्त चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाका कारण उनको चर्चा भएको हो ।
गत साता शुभमुहूर्त गरिएको चलचित्र मारुनीमा साम्राज्ञी नै प्रमुख भूमिकामा छिन् । पहिलो पटक अभिनेता पुष्प खड्कासँग जोडी बाँधिन लागेकी साम्राज्ञीले यो चलचित्रमा लेस्बियन (महिला समलिंगी) को भूमिका निर्वाह गर्ने बताइन्छ । यद्यपि शुभमुहूर्त समारोहमा उनले आफ्नो भूमिकाका बारेमा मुख खोल्न चाहिनन् ।
‘लेस्बियनको भूमिका निर्वाह गर्दैछु पनि भन्दिन, उक्त भूमिका निर्वाह गर्न लागेको होइन पनि भन्दिन, साम्राज्ञीको भनाइ छ– ‘भूमिका चाहिँ गज्जबकै छ, यसअघि कहिल्यै नगरेको !’