साप्ताहिक संवाददाता
प्रत्येक शुक्रबार कम्तीमा दुई नेपाली चलचित्र प्रदर्शन हुनुलाई अब नौलो मानिन छाडिएको छ । अझ कुनै साता सार्वजनिक बिदा परेको छ भने ढुक्क भए हुन्छ, त्यो शुक्रबार ठूलै बजेटका चलचित्र प्रदर्शन हुनेछन् । आज फागुन १७ गते शुक्रबार एउटा त्यस्तै साइत जुरेको छ । सोमबार महाशिवरात्रि पर्वका अवसरमा सार्वजनिक बिदा हुन्छ । उक्त बिदा सदुपयोग गर्ने उद्देश्यले आज शुक्रबार दुई ठूला ब्यानरका, ठूलो बजेटका तथा ठूलै स्टारका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् जसमा अनमोल केसी अभिनीत क्याप्टेन तथा आशिरमान देशराज जोशी अभिनीत द ब्रेकअप छन् । रोचक कुरा के छ भने अनमोल केसीलाई रजतपटमा अभिनेताका रूपमा पदार्पण गराउने निर्देशक हेमराज बिसी हुन् । तिनै बीसीद्वारा निर्मित तथा निर्देशित द ब्रेकअप अनमोलकै क्याप्टेनसंग जुध्न लागेको हो । प्रचार–प्रचारको दृष्टिकोणले क्याप्टेनले द ब्रेकअपलाई निकै पछाडि छाडे पनि निर्देशक बीसी आफ्नो चलचित्रप्रति विश्वस्त देखिन्छन् । यता निर्माता भुवन केसी क्याप्टेनको सफलताले कुन तहको कीर्तिमान बनाउने हो भन्ने कुरामा चिन्तित छन् । सिनेमा हलमा खडेरी परिरहेको दर्शकलाई आकर्षित गर्ने कुरामा दुईमत छैन । एकै दिन, धेरैवटा स्क्रिनसहित प्रदर्शन हुन लागेका यी दुई चलचित्र कस्ता छन् त ?
क्याप्टेन
निर्देशक : दिवाकर भट्टराई
निर्माता : भुवन केसी
कलाकार : अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभि, सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ, सूर्यमाला खनाल, विल्सन विक्रम राई आदि ।
संगीतकार : अर्जुन पोखरेल, एसडी योगी तथा सुशान्त गौतम ।
छायांकनमा जानु अघिदेखि नै चर्चामा रहेको चलचित्र क्याप्टेन आजको मितिसम्म पनि चर्चामै छ । अभिनेता अनमोल केसीको क्रेजका कारण यो चलचित्र बहुप्रतीक्षित भएको हो । फुटबलसँग सम्बन्धित यो चलचित्रमा अभिनेता केसीले फुटबल टिमको कप्तानको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा अनमोलले इशान खड्का नामक युवकको भूमिका निर्वाह गरेका छन्, जो सानो गाउँमा जन्मिए पनि फुटबल खेलाडीका रूपमा देशको नाम राख्न उद्यत छन् । जिल्लास्तरीय खेल खेल्दै राष्ट्रिय टिमको कप्तानसम्मको उनको यात्रालाई चलचित्रमा रोमाञ्चक शैलीमा चित्रण गरिएको छ । चलचित्रको उत्तराद्र्धमा साफ फुटबल पनि समेटिएको छ, जहाँ नेपाल र भारतबीच फाइनल हुन्छ । उक्त खेलको नेतृत्व गर्ने जिम्मा पनि इशानकै काँधमा छ ।
फुटबलमा आधारित भए पनि यो चलचित्र व्यवसायिक सूत्रअनुसार नै निर्माण भएको निर्देशक दिवाकर भट्टराई बताउँछन् । चलचित्रमा दुई नयाँ अनुहार उपासना सिंह ठकुरी तथा प्रियंका एमभी पनि छन् । चलचित्रमा उपासनाले अनमोलको गाउँले प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् भने प्रियंकाले उनलाई शहरमा साथ दिने छिन् । यो चलचित्रमा सरोज खनाल, प्रशान्त ताम्राकार तथा सुनिल थापा पनि प्रभावकारी भूमिकामा छन् । सरोजले जिल्लास्तरीय कोचको भूमिका निर्वाह गरेका छन् भने प्रशान्तले राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।
चलचित्र फ्लोरमा जानुअघि अभिनेता केसीले फुटबल प्रशिक्षक हरि खड्कासँग झन्डै तीन महिना फुटबल प्रशिक्षण लिएका थिए । त्यसक्रममा उनले राष्ट्रिय फुटबल टिमका खेलाडीहरूसँग वास्तविक खेल खेल्ने मौका पाएका थिए । चलचित्रमा वास्तविक खेलका दृश्यसमेत समावेश गरिएका छन् । कतिपय खेलका दृश्य भने एनिमेसन गरिएको छ ।
यो चलचित्रको सांगीतिक पक्ष पनि बेजोड छ । सार्वजनिक भएका यसका दुई गीतमध्ये ‘रहर छ सँगै...’ युट्युबमा ७५ लाखभन्दा बढी पटक हेरिएको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध उक्त गीतमा सुगम पोखरेल तथा अञ्जु पन्तको स्वर सुन्न सकिन्छ जसको भिडियोमा अनमोल र उपासना देखिन्छन् । हालै सार्वजनिक दोस्रो गीत कर्लि कपाल...भने २५ लाख भ्युज पाएर टे«न्डिङको टप टेनमा छ । उक्त गीतमा मेलिना राई तथा एसडी योगीको स्वर सुन्न सकिन्छ ।
सुपर काजल फिल्म्सको ब्यानरमा निर्माण भएको क्याप्टेनमा सत्यम राना, मधुकर बलामी, रामेश्वर श्रेष्ठ, राजन महर्जन तथा श्रीकृष्ण श्रेष्ठको भिएफएक्स छ । सुदीप बराल यो चलचित्रका छायांकार हुन् । यो चलचित्रको कथा सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् भने यसमा कविराज गहतराजको नृत्य निर्देशन छ ।
द ब्रेकअप
निर्देशक/निर्माता : हेमराज बिसी
कलाकार : आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल आदि ।
संगीतकार : विराज गौतम
पहिलो पटक निर्धारण गरिएको प्रदर्शन मिति माघ २७ गतेलाई सारेर पुनः दोस्रो पटक प्रदर्शन मिति तोकिएको चलचित्र द ब्रेकअप अन्ततः आज शुक्रबार दर्शकमाझ आएको छ । देशभरिका करिब ८० वटा स्क्रिनमा प्रदर्शन हुन लागेको यो चलचित्रका अधिकांश दृश्य पोखरा तथा अस्टे«लियामा छायांकन गरिएको छ । यसअघि क्याप्टेनसँग प्रदीप भट्टराईको चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन हुने भनिएको थियो । यद्यपि, छायांकनकै क्रममा अभिनेता बिपिन कार्की घाइते भएपछि उक्त चलचित्र निर्धारित मितिमा प्रदर्शन नहुने भएपछि द ब्रेकअप यो मितिमा आएको निर्देशक बिसीको कथन छ । प्रेमकथामा आधारित यो चलचित्र लोकेसनका कारण पनि हाई बजेटको भएको निर्माता समेत रहेका निर्देशक बिसीले बताएका छन् ।
चलचित्र द ब्रेकअपमा आशिरमान र शिल्पा केन्द्रीय भूमिकामा छन् । पोखराबाट अस्टे«लियाको यात्रामा निस्कने क्रममा एक–अर्काको सामुन्ने परेका यी दुई पात्र नचाहँदा–नचाहँदै प्रेममा पर्छन् । अष्टे«लियामा अध्ययन तथा काम गर्ने सिलसिलामा उनीहरू एक–अर्कासँग अझ नजिक हुन्छन् । यद्यपि परिस्थितिवश उनीहरूबीच ब्रेकअप हुन्छ । त्यसपछि आशिरमानको जीवनमा इच्छाको प्रवेश भएसंगै चलचित्रले नाटकीय मोड लिन्छ ।
यो चलचित्रमा समावेश आशिरमान र शिल्पाबीचको चुम्बन दृश्य अहिले चर्चामा छ । अस्टे«लियामा प्रेममै रहेका बेला उनीहरूबीच चुम्बन साटासाट हुन्छ । उक्त दृश्यलाई निर्देशकले आकर्षक शैलीमा चित्रण गरेका छन् । उक्त दृश्यका बारेमा राखिएको जिज्ञासामा अभिनेत्री मास्केले खासै असहज नभएको प्रतिक्रिया दिएकी छिन् भने अभिनेता जोशीले पनि उक्त दृश्य अभिनयकै एउटा अंग भएको बताएका छन् । केही समयअघि सार्वजनिक चलचित्रको टे«लरमा पनि जोशी र मास्केको प्रेम तथा ब्रेकअपका कुरालाई नै प्राथमिकता दिइएको छ ।
रूपक थापा, दीपक खतिवडा, रेनु राना तथा निर्देशक बिसीले लगानी गरेको यो चलचित्रको कथा तथा पटकथा पनि निर्देशक बिसीले नै लेखेका हुन् । चलचित्र ब्रेकअपलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् भने सुरेन्द्र पौडेल यो चलचित्रका सम्पादक हुन् । चलचित्रका मुख्य कलाकारहरूको पहिरन डिजाइनर युबी थापाले तयार पारेका हुन् ।
चलचित्रमा समावेश पुरानो गीत आज हाम्रो भेट भा’को दिन...को रिमेक दर्शकले मन पराइसकेका छन् । युट्युबमा उक्त गीत करिब ५५ लाख पटक हेरिएको छ । विराज गौतम तथा मेलिना राईको स्वरमा रि–रेकर्ड गरिएको उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरूले आकर्षक नृत्य गरेका छन् । दोस्रो गीत हर पल... सामान्य छ । अस्टे«लियामा छायांकन गरिएको विराज गौतमको स्वर तथा संगीतको उक्त गीतमा आशिरमान र शिल्पा मास्केको अभिनय हेर्न पाइन्छ ।