साप्ताहिक संवाददाता
गत शुक्रबार रूमालै छ चिनो, फिंगर प्रिन्ट र ब्वाइ फ्रेण्ड गरी तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए । यी तीनै चलचित्रले राम्रो व्यापार नगरेको सिनेमा हल सम्बद्ध सूत्रहरू बताउँछन् । यो हप्ता प्रदर्शित तीन चलचित्रमध्ये रुमालै छ चिनोले अरूको तुलनामा केही राम्रो व्यापार गरेको हल सञ्चालकहरूले जानकारी दिए । रुमालै छ चिनोको निर्माण पक्षले चलचित्रको प्रचार–प्रसार फरक शैलीले गरेको थियो ।
यो चलचित्र प्रदर्शनमा आउनुभन्दा पहिले सम्पूर्ण हलमा गएर दर्शकहरूलाई रुमाल बाँडिएको थियो । यही फरक शैलीका कारण पनि उक्त चलचित्रले अलिकति राम्रो व्यापार गरेको निर्देशक दिनेश सिंह ठकुरी दाबी गर्छन् । ठकुरी भन्छन्– रुमालै छ चिनो अरू चलचित्रको तुलनामा अगाडि भए पनि आम्दानीको हिसाबले घाटामै छ, तैपनि हामी खुसी छौं । यस्तै, मेडिकल साइन्स र फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधमा केन्द्रित चलचित्र फिंगर प्रिन्टले पनि राम्रो व्यापार गर्न सकेन ।
नवीन निरौलाको लेखन तथा निर्देशनको उक्त चलचित्रमा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, शंकर आचार्य, जेसिका भुसाल आदिले अभिनय गरेका छन् । त्यसैगरी मदन घिमिरेको निर्देशनको अर्को चलचित्र ब्वाइ फ्रेण्डको अवस्था पनि त्यस्तै रह्यो । यो चलचित्रमा युवा पिँढीमा मौलाएको ब्वाइ फ्रेण्ड र गर्लफ्रेण्ड बनाउने प्रवृत्तिका साथै अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन गर्न नसक्दा सिर्जना हुने परिणाम कस्तो हुन्छ भन्ने कुरा प्रस्तुत गरिएको थियो । विषय ठीकै भए पनि यो चलचित्रलाई दर्शकले रुचाएको पाइएन ।