साप्ताहिक संवाददाता
युसुफमान श्रेष्ठ यतिबेला देशबाहिर छन् । जहाँ रहे पनि यी २७ वर्षीय तन्नेरी परम्परागत बाजाको संरक्षणमा जुटेका छन् । उनले कामबाहेक आफ्नो बचेखुचेको समय कला–संस्कृतिको संरक्षणमै खर्चिएका छन् । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका श्रेष्ठ आफूले बजाउने मात्र होइन, अरूलाई पनि परम्परागत बाजा बजाउन सिकाउन तल्लीन देखिन्छन् । हार्मोनियम, तबला, मादल, मृदङ्गा, धिमे, बाँसुरी, पछेमा, न्यखिं, ता, झयालिन, तिन्छु, भुसिया आदि शास्त्रीय बाजामा उनी पोख्त छन् ।
लोप हुन लागेका परम्परागत बाजा बजाउने र अरूलाई पनि सिकाउने अभियानमा उनको अग्रसरता विदेशमा भए पनि उत्तिकै छ । परम्परागत बाजामा माहिर श्रेष्ठ बाजा बजाउनकै लागि अमेरिकाका विभिन्न राज्य पुगिसकेका छन् । श्रेष्ठले क्यानाडाको टोरोन्टोमा समेत आफनो कला देखाइसकेका छन् ।
खास गरी उनी नेवारी बाजामा पोख्त मानिन्छन् । नेवार समुदायको जात्रा, गुठी, पूजा आदिमा सानैदेखि सक्रिय युसुफमान अमेरिकामा पनि आप्mनो समुदायका हरेक व्यक्तिसँग आप्mनो प्रमुख भाषाका रूपमा नेवारी नै प्रयोग गर्छन् । केही अघि टेक्सासमा भएको इन्द्रजात्रामा समेत उनले धिमे आदि बाजा बजाएका थिए । श्रेष्ठले अमेरिकामा हुने, इन्द्रजात्रा, गाईजात्रा, लठ्ठी नाच तथा वामन नाचमा आफनो कला देखाउँदै आएका छन् ।
१५ वर्षभन्दा बढी शास्त्रीय संगीतको अनुभव बटुलिसकेका श्रेष्ठ अमेरिकामा इन हाउस तथा युनाइटेड नेवाः ब्यान्ड स्थापना गरी मौलिक बाजा जोगाउने अभियानमा छन् भने अमेरिका आएका नयाँ पुस्तालाई पनि मौलिक बाजातर्फ आकर्षित गर्दैछन् । ‘जहाँ रहे पनि आफनो मौलिक संगीतलाई बिर्सनु हुँदैन,’ श्रेष्ठले भने– ‘यही भएर लोप हु“दै गएका बाजाको संरक्षणमा जुटेको छु ।’
सानै उमेरदेखि आप्mनो भाषा–संस्कृतिको संरक्षणमा लागेका श्रेष्ठ काठमाडौं उपत्यकाको प्राचीन नेवार बस्ती साँखुमा जन्मिएका हुन् । साँखुकै संस्कृतिकर्मी बाबु प्रकाशमान साख्वको प्रेरणाले उनलाई शास्त्रीय संगीतको संरक्षणमा लाग्न ऊर्जा प्रदान गरेको हो ।
सानै उमेरमा उनले साँखुमा कुमारीको रथ बनाई साँखु कुमारी जात्राको थालनी गरेका थिए । त्यस्तै साँखुमा रहँदा उनले साँखु भिन्तुना पुच स्थापना गरी झन्डै २ सय युवायुवतीलाई खिः बाँसुरी तथा विभिन्न बाजा सिकाएका थिए । नेपालमै हुँदादेखि नै शास्त्रीय संगीत तथा संस्कृतिमा सक्रिय श्रेष्ठ विगत पाँच वर्षदेखि अमेरिकामा छन् ।
युसुफलाई यहाँका हरेक जात्रा एवं सांस्कृतिक उत्सवहरूमा बाजा बजाउँदै हिँडेको देख्न पाइन्छ । उनको कलाको नेपाली समुदायबीच प्रशंसा समेत हुने गरेको छ । ‘जहाँ रहे पनि आफ्नो भाषा–संस्कृति र कलाको संरक्षणमा लागिरहनेछु,’ श्रेष्ठले भने– ‘हामी युवाले नै यस्ता लोप हुन लागेका बाजाको संरक्षण गरेनौं भने एक दिन यो आफैं हराएर जानेछ ।’