फाल्गुन १८, २०७५
फूलमा होइन म कतै झारमा छु,
यस्तै छ जिन्दगी हतारमा छु ।
रम्दै छ दुनियाँ खुसीमा जम्दै छ,
बेखबर छु म कुन संसारमा छु ।
न हिँड्न सक्छु म, न सुस्ताउन
के गर्नु खुकुरीको धारमा छु ।
धेरै भो दोबाटो ढुकेर बसेको,
यता जाऊँ कि उता विचारमा छु ।
खेलको नतीजा आउला–नआउला
जितेर पनि म हारमा छु ।
काँडाहरू सजिलै पन्छाएँ,
कोमल फूलको मारमा छु ।
भनिदे ए दुनियाँ मेरा बारेमा,
थाहाँ छैन कस्तो आकारमा छु ?