साप्ताहिक संवाददाता
दशक अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएको चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई दर्शकले फेरि एकपटक हेर्न पाउने भएका छन् । यो गीतलाई चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ मा रि–एरेन्ज गरेर समावेश गरिएको छ । आउँदो मंगलवार गीत सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।
शुक्रवार निर्माण टिमले फिल्ममा समावेश यस गीत छायांकनका केही तस्बिरहरु सार्वजनिक गरेको छ । बाबुराम दाहालको शब्द रचनामा तयार ओर्जिनल गीतमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । भने, शम्भुजित र साधना सरगमले स्वर दिएका थिए ।
रिमेक भर्सनमा धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यसलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ ।
चलचित्रमा सुहाउने भएकै कारण ‘चट्ट रुमाल’ गीतलाई राखिएको निर्माता मध्येका एक केशव भट्टराईले जानकारी दिए । उनी चलचित्र ‘आफ्नो मान्छे’ का पनि निर्माता हुन् । यो चलचित्र सम्राट शाक्य ले निर्देशन गरेका हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् ।