शिवले गाँजा तानेको देखासिकी जो–कसैलाई गर्न मन लाग्छ तर शिवले कालकुट विष पिएजस्तो विष पिएर पचाउन सक्ने ल्याकत कति जनासँग छ ? त्यो कालकुट विषको अर्थ के थियो ? शिवले खरानी घस्नुको अर्थ के थियो ? बुझेर गर्दा हरेक कुरामा सार छ तर अरुले त्यसै गरेका छन्, दुनियाँ लाममा बसेको छ म पनि बसिदिन्छु भन्ने अन्धताले समाजमा झुन्ड मात्र तयार हुन्छ ।
शिवरात्रि नजिकिँदैछ । हिन्दू धर्मावलम्बीहरूका लागि शिवरात्रि विशेष चाड हो । नारीहरूका लागि त शिव प्रिय भगवान् नै मानिन्छन् । सहरका नवयुवाहरूमा भने शिवरात्रि आउनु भनेको गाँजा खाने पर्व आउनु हो भन्ने भ्रम पर्न थालेको छ । नारीहरू एकातिर हक–अधिकारको कुरा गर्छन् र पुरुषले थिचोमिचो गरे भनेर कराइरहेका छन् भने अर्कातिर शिवलिंगको पूजा गर्न दिनभर लाममा बस्नु कत्तिको विरोधाभासपूर्ण कुरा हो, बहसकै विषय हो ।
युवाहरूमा भगवान् शिवले गाँजा खान्थे, हामीले पनि उसैगरी गाँजा खाएर शिवरात्रि मनाउनुपर्छ भन्ने गलत मनोवृत्ति हावी छ । शिवले गाँजा तान्नुको अर्थ के थियो ? शिवको सारतत्व के हो ? शिवको रूपको मात्र अनुसरण गर्ने कि गुण र सारतत्वको पनि गर्ने ? के गाँजा तान्दैमा र व्रत बस्दैमा शिवभक्त भइन्छ ? शिवको महिमा र विराट पक्ष के–के छन् ? शिवलिंग र योनिको पूजा गर्नेले त्यसको अर्थ र गम्भीरता बुझेका छन् कि छैनन् ? एकातिर यौनको विरोध गर्ने समाज र अर्कातिर खुलेआम योनी र लिंगको पूजागर्ने समाज एकैठाउँमा उभिएको छ । हजारौं मानिस जानीनजानी यौनको पूजा गरिरहेका छन् फेरि त्यही कुराको विरोधसमेत गरिरहेका छन् । हाम्रो समाज कति कुरा होसमा गर्छ र कति कुरा बेहोसमा गर्छ, कतिले सोचेका छन् ?
शिवले गाँजा तानेको देखासिकी जो–कसैलाई गर्न मन लाग्छ तर शिवले कालकुट विष पिएजस्तो विष पिएर पचाउन सक्ने ल्याकत कति जनासँग छ ? त्यो कालकुट विषको अर्थ के थियो ? शिवले खरानी घस्नुको अर्थ के थियो ? बुझेर गर्दा हरेक कुरामा सार छ तर अरुले त्यसै गरेका छन्, दुनियाँ लाममा बसेको छ म पनि बसिदिन्छु भन्ने अन्धताले समाजमा झुन्ड मात्र तयार हुन्छ । गाँजा तानेर शिवको आराधना गर्ने कति युवा अनि लिंगको पूजा गरेर शिवको भक्ति गरें भन्ने कति युवतीलाई शिवको सही अर्थ थाहा होला ? शिवजस्तै पति पाउनुपर्छ भनेर सिकाउँदै आएको समाजले त्यही शिवको यो–यो कुराचाहिँ गुण हुन्, यीचाहिँ अवगुण हुन् भनेर कहिल्यै सिकायो कि सिकाएन ? किन शिवजस्तै पति चाहिएको हो सबैलाई ? शिवमा असल पतिमा हुनुपर्ने के–के गुण छन्, के–के बैगुन छन्, घरमा छलफल हुन्छ कि हुँदैन ?
अन्धाधुन्ध रूपमा शिवजस्तै पति प्राप्त गर्न र खोज्न किन हजारौं युवती लाममा बस्छन् ? पतिका रूपमा शिवले उनकी पत्नीलाई कति सुख दिएका थिए ?
चल्दै आएको चलन, भगवानले गरेका सबै कुरा ठीक, त्यस्तै लेखेको छ भनेर अन्ध रूपमा अनुसरण गर्ने कि त्यसले भन्न खोजेका कुरा पनि पर्गेल्ने ? गेरुवस्त्र भिर्दैमा, खरानी घस्दैमा गाँजा तान्दैमा, लिंग पुज्दैमा धर्म हुन्छ र ? अनि के असल पति पाऊँ भन्दै हरेक पर्व, हरेक वर्ष नारीले मात्र उपवास बस्नुपर्ने हो र ? असल पत्नी पाऊँ भनेर एउटा पुरुष वर्षमा कति पटक व्रत बस्छ ? समाजले यो ढोंगी चरित्र कहिलेसम्म देखाइरहने ? कुनै धर्म वा कुनै अमुक वस्तु वा भगवान्प्रति आस्था राख्नु, राख्न पाउनु सबैको व्यक्तिगत अधिकार हो, तर म के गर्दैछु, किन गर्दैछु भनेर हरेकले आफैंसँग गर्नुअघि प्रतिप्रश्न गर्ने कि नगर्ने ? घरका आमाबाबुले भने, अग्रजले भने, धर्मका मसिहाहरूले भने, ग्रन्थहरूले भने भनेर हामी युगौंसम्म विवेकको बिर्को बन्द गरेर बस्ने कि यो किन गरेको भनेर अर्थ पनि खोज्न थाल्ने ?
हामी रूपको मात्र अनुसरण गरेर जुनी बिताउने कि सारको पनि खोजी गर्ने ? घरका तिनै मानिसले यौन भनेको पाप हो भनेर पनि सिकाउने अनि धर्म र संस्कारको नाममा फेरि त्यही लिंग पूजा पनि गर्न सिकाउने चरित्रले कत्रो मनोवैज्ञानिक रनभुल्लता सिर्जना गर्ला ? कतिलाई त शिवलिंग मात्र याद होला, त्यसको फेदमा भएको नारीको योनिको हेक्कासम्म नरहेको हुन सक्छ । पूजा नगरौं, व्रत नबसौं भन्न खोजेको होइन, तर जानेर बसौं, अर्थ बुझेर बसौं, शिवजस्तै पति आफूलाई चाहिएको हो कि होइन, प्रस्ट भएर बसौं । गाँजा, भाङ, धतुरो सेवन गर्नेले पनि धर्म गर्दैछु भन्ने भ्रम पालेर नबसौं । खरानी घस्दैमा र गेरु वस्त्र लगाउँदैमा जोगी भइँदैन ।
कसैको भक्त हुने र विरोध गर्ने अधिकार सबैलाई छ, तर अर्थ र महिमा नै नबुझी जो–कोही व्यक्ति वा भगवान्कै पनि अन्धभक्त हुनु नशा हो, ढोंग हो । भीडको पछि लाग्नु र प्रश्न नगर्नु हरेक समाजको समस्या हो । गाँजा तानेर र लिंग–योनि पुजेर शिवभक्त भएँ, धर्म गरें वा गर्दैछु भन्ने भ्रम पार्ने हरेक युवायुवतीका साथै तमाम मानिसलाई एकपटक शास्त्रग्रन्थमा लेखिएअनुसार उनका क्रियाकलाप, रूप, व्यवहार एवं विराटताको विवेचना गर्न आग्रह गर्छु । बम बम भोले सबैले आफ्नो तेस्रो नेत्र खोले !