नक्कली नोट छापेर कारोबार गर्ने एक जोडी युवा–युवतीपोखरामा पक्राउ परेका छन् । हेटौंडा, मकवानपुर घर भै पोखरा महानगरपालिका–५, पस्र्याङमा डेरा गरी बस्ने ३२ वर्षीय नरेश लामा तथा २५ वर्षीया सरस्वती बलामी पक्राउ परेका हुन् । उनीहरू माथि नक्कली नोट छपाइ तथा कारोबार गरेको आरोप छ । पक्राउ परेका उनीहरूले प्रहरीसँगको आफ्नो बयानमा पोखराका विभिन्न स्थानमा रिचार्ड कार्ड तथा अन्य सामग्री नक्कली नोट नै प्रयोग गरी खरिद गर्ने गरेको बताएका छन् । अर्मला, पोखराका किराना पसलहरूमा नक्कली नोट दिँदै रिचार्ज कार्ड लिएर फरार भएको सूचनाका आधारमा अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एस.पी. ओमबहादुर रानाले बताए । उनीहरूलाई खोटा मुद्रासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उनीहरूले चलनचल्तीमा रहेको नोटलाई स्क्यानिङ गरेर प्रिन्टर मार्फत प्रिन्ट गर्ने गरेको प्रहरीसमक्ष बताएका छन् । ‘सक्कली नोट स्क्यानिङ गरी त्यसैबाट धेरै कपी प्रिन्ट गरी प्रयोग गरिएको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो । उनीहरूको सम्बन्ध नक्कली नोटका अन्य कारोबारीसँग छ कि छैन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । दुवैको बैक खाता भएको तथा एकै ठाउँमा बस्ने भए पनि केटाले केटीको बैंक खातामा आइएमइमार्फत पटक–पटक पैसा पठाएको पाइएको प्रहरी स्रोतले जनाएको छ । लिविङ टुगेदरमा बसे पनि उनीहरू वैधानिक रूपमा श्रीमान्–श्रीमती नभएको प्रहरीले बतायो । हेटौंडा–९ का नरेश तथा हेटौंडा–१ की सरस्वतीको भेट फेसबुकमार्फत भएको थियो भने डेढ वर्षदेखि उनीहरू अफेयरमा थिए ।
हालसम्म झन्डै २ सय ठाउँमा पुगेर नक्कली नोट मार्फत कारोबार गरेको उनीहरूले स्वीकार गरेका छन् । दिनमा झन्डै १० देखि १५ वटा नोट साट्ने उनीहरूले बताए । उनीहरू मोटरसाइकलमा चढेर विभिन्न ठाउँमा पुग्थे । उनीहरूले प्रयोग गरिरहेको डुक मोटरसाइकल ग्लोबल रिकन्डिसन नयाँ बजारबाट खरिद गरेका हुन् । उनीहरूले झण्डै ५ लाख रुपैयाँ जति नक्कली नोट बजारमा पठाइसकेको बताए पनि प्रहरीले ९ लाख रुपैयाँजति नक्कली नोट बजारमा पठाइसकेको अनुमान गरेको छ । विदेश जाने लक्ष्यका साथ टोफेल–आइएलटिएस पढ्न पोखरा आएको उनीहरूले बताएका छन् । यो जोडी नक्कली नोट, नोट प्रिन्ट गर्ने प्रिन्टर तथा अन्य सामग्री सहित पक्राउ परेको हो ।
घटना विवरण
पक्राउ परेका दुवै जना हेटौंडाका भए पनि उनीहरूको चिनजान फेसबुक मार्फत भएको थियो । नरेश लामा विवाहित हुन् भने सरस्वती अविवाहित । उनीहरू विस्तारै प्रेममा परे । प्रेममा परेपछि उनीहरूको सपना अष्ट्रेलिया जाने र त्यहि सेटल हुने थियो, तर विदेश जान सहज भने थिएन । उनीहरूलाई आर्थिक समस्या समेत थियो । उनीहरू अस्ट्रेलिया जाने तयारी कक्षा लिने योजना सहित २०७५ साल पुस २७ गते पोखरा पुगेका थिए । ३ दिन लेकसाइडको होटलमा बसेका उनीहरू त्यसपछि पोखरा–५, पस्र्याङमा कोठा भाडा लिएर बस्न थालेका थिए । त्यहाँ उनीहरू एक–अर्कालाई श्रीमान्–श्रीमती कै रूपमा चिनाउँथे । यही क्रममा उनीहरूलाई आफ्नो दैनिक खर्च जुटाउन समस्या देखिएपछि नक्कली नोटको बारेका समाचार पढेका उनीहरूले नक्कली नोट छाप्ने र खर्च जुटाउने योजना बनाए । उनीहरूले युट्युब मार्फत नोट छाप्ने विधिसम्बन्धी जानकारी लिएका थिए भने नक्कली नोट प्रिन्ट गर्न आवश्यक पर्ने प्रिन्टर पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा किनेका थिए । त्यसपछि आफू बस्ने कोठामै ल्यापटप, कलर प्रिन्टर, फोटोकपी पेपर, कैची, गम आदि प्रयोग गरी नक्कली नोट बनाउन थालेका उनीहरूले त्यसपछि नक्कली नोटको कारोबार गर्न थाले । उक्त नोट बजारमा पठाउन उनीहरूले रिचार्ज कार्ड किन्न थाले । एनसेल तथा नेपाल टेलिकमका १ सय तथा ५० रुपैयाँका रिचार्ज कार्ड किन्दा पसलेलाई १ हजारको नक्कली नोट दिन्थे । उनीहरूले कैयौँ पसलमा त्यस्तै प्रक्रिया दोहो¥याउँदै आएका थिए । कारोबार गर्दा उनीहरूको रोजाइमा बालबालिका, महिला, वृद्धवृद्धा भएका पसल, सा“झको समय तथा ग्रामीण एरिया पर्थे ।
रिचार्जकार्डका अतिरिक्त आफूलाई आवश्यक पर्ने अन्य सामग्री किन्दा उनीहरू यस्तै प्रक्रियामार्फत कारोबार गर्थे । यसै क्रममा माघ २२ गते पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मला स्थित गुरुङ किराना पसलमा उनीहरूले १ सय रुपैयाँको एनसेलको रिचार्जकार्ड किनेका थिए । पसलेलाई एक हजारको नक्कली नोट दिएर ९ सय फिर्ता लिई उनीहरू त्यहाँबाट निस्किएका थिए । गुरुङ किराना पसलमा दिएको नोट नक्कली भएको थाहा पाएपछि पसलेले वडा प्रहरी कार्यालय वगरमा फोन गरी जानकारी दिए । त्यसपछि प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा प्रहरी अर्मला पुग्यो । गुरुङ किराना पसलबाट केही जानकारी लिएपछि प्रहरी आसपासमा अन्य पसलमा समेत सोधपुछ गरेको थियो । एक जोडी युवा–युवतीले मोटरसाइकलमा आएर कारोबार गरेको भन्ने कुरा थाहा पाएपछि प्रहरी अर्को पसलमा पुग्दा मोटरसाइकलको नम्बर समेत खुल्यो । उनीहरू ग १४ प ३५४ नम्बरको डुक मोटरसाइकलमा आएका थिए भन्ने कुरा थाहा पाएपछि प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धान गर्दै जादा प्रहरीले फागुन ६ गते पोखरा–५, पस्र्याङमा डेरा नक्कली नोट बनाइरहेको अवस्थामा उनीहरू दुवै जनालाई पक्राउ गरेको हो ।