साप्ताहिक संवाददाता
अभिनेता आयुष्मान खुराना प्रायः भिन्न प्रकारका चलचित्रमा अभिनय गरेर चर्चामा आउँछन् । उनले आफ्ना अधिकांश चलचित्रमा मौलिक भूमिका निर्वाह गर्दै आएका छन् । चलचित्र ‘अन्धाधुन’ तथा ‘बधाई हो’को अत्यधिक सफलतापछि आयुष्मान चलचित्र ‘ड्रिम गर्ल’ मार्फत पुनः दर्शकमाझ आउँदैछन् ।
यो चलचित्रमा पनि उनी अचम्मको भूमिकामा देखिनेछन्, जसको पोस्टर सार्वजनिक भैसकेको छ । कमेडी ड्रामा विधाको चलचित्र ड्रिम गर्लमा आयुष्मानले सीताको भूमिका निर्वाह गरिरहेका छन् । उनले हालै मात्र ड्रिम गर्लमा निर्वाह गरेको भूमिकाका बारेमा जानकारी गराउँदै दर्शकले आफूलाई उक्त चलचित्रमा बिल्कुलै फरक पाउने दाबी गरेका छन् ।
‘ड्रिम गर्ल निकै अलग चलचित्र हो, आयुष्मानको भनाइ छ— ‘चलचित्रको भूमिकाका लागि मैले साडी लगाएको छु । यो एउटा त्यस्तो केटाको कथा हो जो रामलीलामा सीताको भूमिका निर्वाह गर्छ । ती युवकसँग एउटा ट्यालेन्ट छ, अर्थात् ऊ केटा र केटी दुवैको आवाज निकाल्न सक्छ ।’
चलचित्रमा आयुष्मानसँगै नुसरत भरुचा पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछिन् । यो चलचित्रलाई राज शांडिल्यले निर्देशन गरिरहेका छन् भने एकता कपुर यसकी निर्मात्री हुन् ।