ज्ञानी छ छोरी । गुरुकुलमा नाटक हेर्न आउँथी । अहिले अभिनेत्री भैसकी नेपाली सिनेमाको ।’ अभिनेत्री केकी अधिकारीका बारेमा प्रश्न गर्दा नाट्य संसारका महारथी सुनील पोखरेलको अभिव्यक्ति हो यो । केकी नाटकप्रति सधैं आकर्षित कलाकार हुन् । उनको जीवनको अभिन्न अंग हो नाटक । उनले सत्यमोहन जोशीको नाटक चारुमतीमा अभिनय गरेकी छिन् । त्यत्ति एउटा नाटक हो उनले अभिनय गरेको ।
केकीका बाबा बद्री अधिकारी नेपाली नाटक जगतका भीष्म पितामह हुन् । कलाकारिताको संस्कार उनले बाबाबाटै पाएकी हुन् । नेपाली सिनेमा संसारमा सुशिक्षित कलाकारको क्लब निकै सानो छ । त्यो सानो क्लबको एक प्रमुख सदस्य हुन् केकी । उनका गुणको प्रशंसा गर्नेहरूको कमी छैन भने दोषमात्र देखाउनेहरूको पनि कमी छैन । धेरैका लागि उनी मुडी छिन् । उनीसँग कतिबेला कस्तो व्यवहार गर्ने ? त्यसको आंकलन जरुरी छ ।
सुनीलको लामो अनुभवले भन्छ, ‘कलाकार ज्ञानी हुनु गाह्रो छ । जो कलाकार खारिएका हुन्छन् ती मात्रै ज्ञानी हुन्छ । केकी ज्ञानी छिन् । उनले नेपाली सिनेमा संसारमा आफ्नो उत्कृष्ट अभिनय स्थापित गरिसकेकी छिन् । अब बेला भयो, उनले बाजी जित्नुछ । आफूलाई साबित गरेर देखाउनु छ । आफ्नो प्रतिभाको चौतर्फी उज्यालोमा आफ्ना दर्शक तथा प्रशंसकहरूलाई सन्तुष्ट तुल्याउनु छ । हो, केकी रातो गलबन्दीमा सजिएर आशा र उमंगको सन्देश प्रवाहित गर्न आउँदैछिन । रित्तिदै गएको झापाको शरणार्थी शिविरबाट उनी शिविर भित्र बसेर बाहिर कसैसँग प्रेम गर्ने एउटा प्रेमीको कथाको मुख्य पात्र हुन् ।
नेपालमा बसेका भुटानी शरणार्थीको पीडा र तापको यो कथा प्रस्तुत गरेका हुन्– अनिश थापाले ।
यो सिनेमाका बारेमा केकी केही भन्दिनन् । यो सिनेमा शरणार्थी शिविरभित्र र बाहिर बस्नेहरूको संवेदनशील प्रेम कथा हो । यो सिनेमा दर्शकको रोजाइमा पर्ने आशा निर्देशक थापाले पनि राखेका छन् । स्वदेश फर्कने आशा राखेर शिविरमा बसी आएका शरणार्थीहरू स्वदेश जान पाएनन् । उनीहरूलाई युरोप र अमेरिका पठाइयो । विदेशमा बसेर देश खोज्दाखोज्दै एकाएक सात समुद्र पारी पुगेका शरणार्थीहरूको मनोदशा बुझने नेपालीहरूको कमी छैन । हुन सक्छ, चलचित्र रातो गलबन्दीले ती नेपालीलाई आकर्षित गरोस् र सिनेमा खुब चलोस् । सम्भावना छ र त सिनेमा बनेको छ ।
केकीका बारेमा सिनेमा संसारमा अनेक हल्ला चलाइएका छन् । यसलाई अस्वाभाविक मान्न सकिँदैन । किनभने, कलाकारहरूको एक हिसाबको लाइफ लाइन हो– गफ र हल्ला । सिनेमाका धुरन्धर समीक्षक पनि गफ र हल्लामा बहकिन्छन् । एउटा हल्ला चलाइएको छ– केकीले अभिनय गरेका चलचित्र सुपरहिट हुँदैन । केकी आफ्नो अभिनयमा कतै सम्झौता नगर्ने कलाकार हुन् । उनलाई माध्यमको समझ छ । आफू के गर्दैछु भन्ने स्पष्ट भएपछि मात्र उनी अभिनयमा उत्रिन्छिन् । अधिकारी भन्छिन्, ‘म आफूले छानेको कुनै पनि सिनेमामा राम्रो काम गर्छु । म मेहनत गर्न कतै चुकेकी छैन, चुक्दिन पनि । यद्यपि मैले अभिनय गरेका सिनेमाले आर्थिक फाइदाको हिसाबले किन औसतमात्र व्यापार गर्छन् थाहा छैन ।
जुन कुरा केकीलाई थाहा छैन त्यो नयाँ जमानाका प्रतिभाशाली निर्देशक दीपेन्द्र लामालाई थाहा छ । नेपाली दर्शकहरूलाई निकै नै घत परेको चलचित्र ‘घामपानी’ मा लामाले केकीलाई निर्देशित गरी सकेका छन् । लामा भन्छन्– केकी निर्देशकले खोज्ने ‘कुशल’ कलाकार हुन् । उनी स्क्रिप्टमा ‘इनपुट’ दिन्छिन । सुटिङमा क्यामेराको फ्रेमभित्र आफूलाई ‘होल्ड’ गर्न सक्ने क्षमता छ उनमा । क्यामेराको फ्रेमलाई कसरी ‘कभर’ गर्नुपर्छ भन्ने समझ वा ज्ञान भएका कलाकार थोरै छन् । कलाकारका रूपमा केकी सहयोगी छिन् । समयको पक्का । निर्धारित समयमा काम सिध्याउन पाए खुसी हुने पूरै व्यवसायिक कलाकार । उनको अभिनय कला पनि उत्तिकै तीक्ष्ण छ । कलाकारहरूसँग टिमका रूपमा मिलेर बस्ने खुबी छ उनको । हिरो, क्यामेराम्यान लगायतका सबै क्रू मेम्बर तथा प्राविधिक साथीहरूसँग ट्युनिङ मिल्छ उनको ।
‘हो, अलिकति झडंग रिसाउने बानी छ केकीको । त्यस्तो बानी सबैमा हुन्छ । उनको मुड बिग्रिएपछि लगभग एकघण्टासम्म सुध्रिदैन । घामपानीको सुटिङका बेला उनको मुड तीन घण्टा जति बिग्रिएको थियो’ दीपेन्द्र ठट्यौलो पारामा भन्छन् ।
केकीको फिल्म सुपरहिट नहुनुमा उनको कुनै दोष छैन । केकी हिरोइन भएको सिनेमा ज–जसले निर्देशित गरे उनीहरूले सिनेमालाई सफलताको बाटोमा लान सकेनन् । त्यो उनीहरूकै दोष हो । एउटा काविल कलाकारलाई राम्रोसँग निर्देशित गर्न नसक्ने व्यक्तिहरू चलचित्र निर्देशक भएपछि यस्तै हुन्छ । नेपाली सिनेमाको सबैभन्दा बढी खति कसैले गरेको छ भने कलाकारहरूका बारेमा चलाइने यस्तै अन्धबिश्वासले गरेको छ ।
निर्देशक लामा भन्छन्– केकीका कारण सिनेमा चल्दैन भन्नेहरूलाई जवाफ हो– घामपानी । घामपानी त खुब चल्यो नि । अन्धविश्वासकै पछि लाग्ने हो भने त त्यो पनि नचल्नुपर्ने थियो । सिनेमा चलेनन भने केकीले त्यसमा गर्न सक्ने कुरा के थियो ? उनी कलाकार । नेपालमा कलाकारले कथा र निर्देशक राम्रो भएन भनेर सिनेमा छोडदैजाने कुरा पनि भएन । जीविकाको प्रश्न पनि हो अभिनय ।
केकी आफैं केही बोल्न चाहन्नन् । अहिले उनी अलिकति अन्योलमा छिन । दर्शकले ठूलो आशा राखेका छन उनीबाट । उनलाई अब आफना कमजोरीलाई शक्तिमा रूपान्तरित गर्नुछ । उनी सिनेमा जे हो त्यो गरेर देखाउन चाहन्छिन् । घामपानीपछि, उनले लभ सासाबाट निकै आशा गरेकी थिइन् । उनको आशाविपरीत संवेदनशील हावा चलेका बेला चलचित्र हिट हुन सकेन । राज्जारानीबाट पनि उनले निकै आशा राखेकी थिइन । महिलाहरूसँग सम्बन्धित सामाजिक विषयमा फोकस उक्त चलचित्रले पनि अपेक्षा गरे अनुरूपको परिणाम दिन सकेन ।
उनले आफैं निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ भने चल्यो । त्यसले पैसा पनि कमायो । तर, जसले हामीलाई त्यसको स्क्रिप्ट उपलब्ध गराए त्यो भारतीय सिनेमाको स्क्रिप्टको कपी रहेछ । त्यसैले पैसा त कमाए पनि त्यसले सन्तोष भने दिएन । मैले यसरी पनि मार खाएकी छु । अब बनाउने सिनेमाका लागि यी सबै कुरा सावधानीका विषय भएका छन् । आशा राख्नुपर्छ । सिनेमा भनेको व्यापार हो । यो व्यापारमा हामीले दर्शकहरूको स्वाद पत्ता लगाउनुपर्छ । कसलाई के मन पर्छ ? त्यसको निर्क्यौल गर्न सक्नुपर्छ ।
मेरो आगामी चलचित्र निराशावादसँगको भिडन्त हो । आफ्नो खुसी नै थाहा नपाएकी, बनावटी खुसीमा बाँचीरहेकी एउटी नारीको कथा । यो एक्ली आमाको कथा हो । यो सिनेमाको छायांकन आगामी वैशाखदेखि हुनेछ । सिनेमाको सुटिङ नेपालमा त हुन्छ नै, हामीले युरोपमा पनि यसको सुटिङ गर्दैछौं । एक वर्षभित्र चलचित्र प्रदर्शनमा ल्याउने लक्ष छ हाम्रो । यसमा सिच्युएसनल कमेडी हुनेछ । दर्शकलाई नयाँ किसिमले कनेक्ट गर्ने विचारमा छिन्– केकी । कीप अन चेन्जिङग– नयाँ मन्त्र बनेको छ केकीको ।