जंगली हात्ती ध्रुबेको ‘उदण्ड’ स्वभावको समाचार नपढ्ने–नसन्नुे कमै होलान । चितवन राष्ट्रिय निकुञ्जको यो जंगली भाले हात्तीले तीन वर्षमा निकुञ्ज आसपासका १५ जनाको ज्यान लिएको थियो । महिना दिनभित्रै चारजनाको ज्यान लिएपछि स्थानीय प्रशासनले ध्रुबेलाई मार्ने निर्णय गर्दै सेना खटायो । एकाएक हराएको ध्रुबे गत वर्ष निकुञ्ज घुमिरहेका सञ्चारकर्मीको नजरमा पर्यो । ध्रुबे त्यति बेला पोथी हात्ती तीर्थमानकलीसँग
मग्न थियो ।
प्रशासनले बाहिर नभने पनि ध्रुबे त्यसअघि नै जंगलमा देखा परेको रहेछ । तीर्थमानकलीसँग प्रेमालाप गर्नुभन्दा एक वर्षअघि नै ध्रुबेको भेट निकुञ्जकै अर्को पोथी हात्ती लोकतन्त्रकलीसँग भएको रहेछ । लोकतन्त्रकली र ध्रुबेको लगभग दुई वर्षअघिको सम्बन्धबाट फागुन ९ गते बिहीबार बिहान चितवन निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा भाले छावा जन्मिएको छ ।
वि.स. २०४२ सालमा स्थापना भएको खोरसोर हात्ती प्रजनन् केन्द्रमा योसहित ४८ वटा छावा जन्मिएको केन्द्रका प्रमुख बुधन चौधरीले बताए । यो वर्षको असोज यता मात्र केन्द्रमा पाँचवटा छावा जन्मिए । प्रजनन् केन्द्रमा पहिले एउटा वीरेन्द्रप्रसाद नामक घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा दुईवटा छावा जन्मिएका छन् । निकुञ्जका ढोइ (पोथी हात्ती) जंगली मत्ता (भाले) कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले बताए ।
ध्रुबे, रोमियो, नाना पाटेकर, रोनाल्डो जस्ता नाम गरेका जंगली भाले हात्तीबाट निकुञ्जमा रहेका घरेलु हात्तीको वंशवृद्धि सम्भव भएको छ । मार्ने निर्णय हुनुअघि पनि ध्रुबे हात्तीबाट छावा जन्मिएका थिए । ध्रुबेको ‘आतंककाल’ पछि उसको संसर्गबाट छावा जन्मिएको भने यो पहिलो घटना हो । उता लोकतन्त्रकलीको यो पहिलो सन्तान हो । ध्रुबेसँग आतंकको कथा जोडिएर आउँछ, लोकतन्त्रकलीसँग पनि एउटा कथा छ जुन सुखद संयोगसँग गाँसिएको छ ।
लोकतन्त्रकलीको कोखबाट केन्द्रका लागि ४८ औं छावा जन्मदा धेरैलाई पुरानो दिन सम्झना आयो । वि.सं. २०६३ सालको बैशाख ११ को साँझ केन्द्रको लक्ष्मीकलीलाई सुत्केरी व्यथा लाग्यो । मध्यरातमा पोथी छावा जन्मिएपछि कर्मचारीहरू सुत्न गए । बिहान थाहा भयो देशमा लोकतन्क्रका लागि १९ दिनदेखि चलिरहेको आन्दोलनमा बिराम लागेछ । लक्ष्मीकलीलाई व्यथा लाग्ने त्रममा तत्कालीन आन्दोलनरत दल र राजाबीच सहमति यो ।
दलहरूको आन्दोलनको दवावमा परेपछि राजाले देशमा लोकतन्त्रको घोषणा गरे । बिहानपख यो खवर सुनेपछि हात्ती प्रजनन् केन्द्रका तत्कालीन प्रमुख रामेश्वरप्रसाद चौधरीले आफ्ना कर्मचारीहरूसँग भने ‘राती जन्मिएको छावाको नाम लोकतन्त्रकली राख्नु पर्ला ।’ रामेश्वरले जे सोचेका थिए त्यही भयो, उक्त हात्तीले लोकतन्त्रकली नाम पायो ।
राजतन्त्र भएको भए केन्द्रका कर्मचारीले राख्न चाहेको नाम स्वीकृत हुने सम्भावना कमै थियो । छावा जन्मिएको खबर उनीहरू चितवन निकुञ्जको मुख्यालयलाई दिन्थे ।
निकुञ्ज मुख्यालयले राष्ट्रिय निकुञ्ज विभागलाई त्यसको जानकारी गराउँथ्यो । विभागले दरबारमा सूचना पुर्याउँथ्यो । त्यसपछि दरवारले नै छावाको नाम तोकेर पठाउने चलन थियो जसमा प्रायः राजपरिवारका सदस्यको नामले स्विकृति पाउँथ्यो । पोथी हात्ती भए नामसँगै कली जोडिन्थ्यो, भाले भए गज वा प्रसाद ।
लोकतन्त्रकलीसँगै नामाकरण गर्ने त्यो प्रचलन भंग भयो । यस कारण पनि लोकतन्त्रकली चितवनको चर्चित हात्ती बन्यो ।