त्रिशूली नदीमा आयोजित तेस्रो संस्करणको राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको उपाधि नेपाल र्याफ्ट एन्ड कायक क्लब फिस्लिङ ए ले हात पारेको छ । प्रतियोगितामा समावेश स्प्रिन्ट, स्लालम तथा डाउन रिभर रेस गरी तिनै विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ए ले उक्त उपाधि जितेको हो ।
नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एसोसियसनको आयोजनामा चितवनको फिस्लिङ स्थित त्रिशूली नदीमा सम्पन्न प्रतियोगितामा ११ टीमले सहभागिता जनाएका थिए । तीनदिन चलेको प्रतियोगितामा प्याडल नेपाल बी टिम द्वितीय स्थान हासिल गर्न सफल भयो भने नेपाल कायक क्लबले तृतीय स्थान हासिल गर्यो ।
सातौं राष्ट्रिय कायाकिङ स्लालम प्रतियोगिताको उपाधि भने बिक्रम गुरुङले हात पारे । निर्धारित २ किलोमिटर दूरी ८४ सेकेन्ड ६९ सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् । उक्त विधामा सुरजन तामाङ द्वितीय भए भने रमेश गुरुङले तृतीय स्थानमा चित्त बुझाए । यो विधामा दुई महिलासहित २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।