पैसा भनेपछि महादेवका पनि तीन नेत्र भनिन्छ । त्यसमाथि मति बिग्रिएपछि कसैको केही लाग्दो रहेनछ । यस्तै उखानलाई चरितार्थ गर्दै चिनजानकै एक शिक्षकले आफ्नै गाउँले युवाको विभत्स हत्या गरेको खुलासा भएको छ । झापाको अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईले सोही ठाउँ घर भै बिर्तामोड नगरपालिका–४ बस्दै आएका २७ वर्षीय दीपक पाण्डेको १० बर्ष अघि हत्या गरेका हुन् । रसायन शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेर पोखरामा अध्यापन गराउँदै आएका भट्टराईले कार लुट्न फिल्मी शैली अपनाएका थिए । प्रहरीले हत्याको आरोपमा भट्टराईलाई फागुन ७ गते काँकरभिट्टाबाट पक्राउ गरेको थियो । भट्टराईलाई सार्वजनिक गर्दै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भट्टराईले २०६५ चैत ३१ गते बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको भाउन्नेमा पाण्डेको हत्या गरेको बताए ।
पैसाको चरम अभाव भएपछि कार लुटेर बेच्ने उद्देश्यले हत्या गरिएको अहिलेसम्मको अनुसन्धानबाट देखिएको एसपी केसीले बताए । ‘योजनाबद्ध रूपमा अभियुक्त भट्टराईले पाण्डेको हत्या गर्ने योजना बनाएको देखियो,’ एसपी केसीले भने, ‘घटना भएकै दिन प्रहरीले दक्ष अनुसन्धान टोली बनायो । सूक्ष्म रूपमा गरिएको अनुसन्धानपछि हत्यामा संलग्न अभियुक्त पक्राउ परे ।’ ‘घटना जतिसुकै पुरानो भए पनि सूक्ष्म तरिकाले अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न प्रहरी लागिपरेकै हुन्छ । लामो समयको अनुसन्धानपछि सफलता मिलेको छ,’ एसपी केसीले भने, ‘विभत्स र ठूला खालका घटनालाई प्रमाणसँग जोड्दै जाँदा हत्यारालाई लामै समयपछि पक्राउ गरेका हौं ।’ ‘सुरुमा त यति बौद्धिक व्यक्तिले हत्या गरे भनेको सुनेरै हामी आश्चर्यचकित भयौं,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा वास्तविकता पत्ता लगाउन सकियो ।’
यसरी भयो हत्या
पाण्डेको हत्या गर्ने अभियुक्त भट्टराई पोखरास्थित दुईवटा शैक्षिक संस्थामा पाँच वर्षदेखि अध्यापन गराउँदै आएको प्रहरीले जनाएको छ । पाण्डे र भट्टराईबीच सामान्य चिनजान थियो । कलेज बिदा भएकाले भट्टराई आफ्नो घर झापा आएका थिए । घरमा एक दिन बसेपछि मृतक पाण्डेसँग भट्टराईको मोबाइलमा सम्पर्क भयो । भट्टराईले इटहरी बजार घुम्न जाउँ भन्दै पाण्डेसमक्ष प्रस्ताव राखे । गाउँको चिनेजानेको मान्छे भएकाले हुन्छ भन्दै पाण्डेले उक्त प्रस्ताव सहज रूपमा स्वीकार गरे । त्यसपछि दुवै जना मृतक पाण्डेको कारमा बसेर बिर्तामोडबाट इटहरीतर्फ हिँडे । त्यतिबेला गर्मी मौसम थियो । मोरङको पथरीबजार आइपुग्दा भट्टराईले गर्मी भयो भन्दै कोक खाऔं भन्दै झोलाबाट भट्टराईले २ सय ५० मिलिलिटरको दुईवटा कोक निकाले अनि ५ वटा स्लिपिङ ट्याब्लेट मिसाइएको कोकाकोला पाण्डेलाई दिए ।
ट्याब्लेट नमिसाइएको कोक आफूले खाए,’ अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर रामकुमार राईले भने, ‘कोक खाएको आधा घण्टापछि कानेपोखरीको चिसाङ्ग खोला आइपुग्दा पाण्डेलाई रिङटा लाग्यो । पाण्डेले सवारी चलाउन सक्दिन भने । म ड्राइभ गर्छु भन्दै भट्टराई अघि सरे । त्यसपछि कानेपोखरीदेखि भाउन्नेसम्म करिब ३ किलोमिटर भट्टराईले कार चलाए । घना जङ्गल र सुनसान स्थल देखेपछि भट्टराईले भाउन्नेको जंगलमा कार रोके । त्यतिबेलासम्म पाण्डे बेहोस भैसकेका थिए । त्यसपछि भट्टराईले गाडीभित्र रहेको दाउले पाण्डेको घाँटीमा २ पटक प्रहार गरे । पाण्डेको प्राण त्यहीँ गयो । उनले त्यहीं नजिकैको जङ्गलमा शव फाले । त्यसपछि को १ च ३८५० नम्बरको त्यही कार लिएर भट्टराई पोखरा हान्निए ।’
लुटेको कार ६५ हजारमा बिक्री
हत्या गरेको भोलिपल्ट भट्टराई आफैले कार चलाएर पोखरा गएको एसपी केसीले बताए । ‘पोखरास्थित हीरा मोटरपार्ट्स एन्ड ग्यारेजका सञ्चालक पोखरा–९ का हीरा गिरीलाई ६५ हजार रुपैयाँमा कार दिएछन्,’ एसपी केसीले भने, ‘पैसा आवश्यक भयो । पैसा लिएपछि भट्टराई भारततर्फ लागे ।’ प्रहरीका अनुसार पाण्डेको हत्या भएको घटना विभिन्न सञ्चारमाध्यममा आएपछि पक्राउ पर्ने डरले भट्टराई पोखराबाट भारततर्फ फरार भए । ‘भट्टराई २०६६ वैशाख २ गते पोखरास्थित आफ्नो कोठामा भएको बहुमूल्य सामानसमेत त्यही छोडी श्रीमती र एक छोरा लिएर भारतको तीनसुकिया आसाम गएको प्रारम्भिक अनुसन्धानबाट देखियो’ एसपी केसीले भने, ‘केही वर्ष त्यहाँ बसे । त्यसपछि भट्टराई भारतको दार्जीलिङ जिल्लाको पानीट्याङ्की तथा काकडभित्ताको सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए ।’
१० वर्षपछि यसरी पक्राउ परे
हत्या गरेको दुई दिन पछि भारततर्फ फरार भएका भट्टराईलाई प्रहरीले पक्राउ गर्न समस्या भएको थियो । प्रहरीले उनको निगरानी भने गर्दै आएको थियो । भारतमा बस्दै आएका कारण भट्टराईलाई पक्राउ गर्न नसकिएको र नेपाल आएको मौका छोपेर पक्राउ गर्न प्रहरी लागि परेको बताइन्छ । भारतको पानीट्याङ्कीबाट झापाको काँकडभिट्टा आएका बेला भट्टराईलाई गत फागुन ७ गते इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामकुमार राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।