साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीसँग अभिनय गर्ने अधिकांश अभिनेत्रीले उनीसँग अभिनय गर्न पाउँदा भाग्य चम्किने प्रतिक्रिया दिएका छन् । संयोग कस्तो छ भने अनमोलले हालसम्म कुनै पनि अभिनेत्रीसँग दोहोर्याएर अभिनय गरेका छैनन् । चलचित्र क्याप्टेनमा त उनले दुई अभिनेत्री उपासना सिंह ठकुरी तथा प्रियंका एमबीसंग अभिनय गरेका छन् ।
चलचित्रमा उपासनाले गाउँले युवतीको भूमिका निर्वाह गरेकी छिन् भने प्रियंकाले सहरिया । यसबीच अभिनेत्री ठकुरीले अनमोलसँग अभिनय गर्ने बित्तिकै आफ्नो भाग्य चम्किन्छ भन्ने कुराको भने खण्डन गरिदिएकी छिन् । ‘अनमोलसँग अभिनय गर्न पाउनु भाग्यको कुरा होला, उपासनाको भनाइ छ– ‘भाग्य नै चम्किने कुराचाहिं आफ्नो अभिनयमा भर पर्ने कुरा हो ।
मैले जस्तो काम गरेकी छु, त्यहीअनुसार मेरो भाग्य चम्किने अथवा नचम्किने हुन्छ ।’ यद्यपि, अनमोलसँग भविष्यमा पुनः संगै अभिनय गर्ने मौका आयो भने त्यसलाई नगुमाउने उनले स्पष्ट पारिसकेकी छिन् ।