साप्ताहिक संवाददाता
नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु भएको छ । शनिबार पहिलोपल्ट नुवाकोटमा प्याराग्लाइडिङ उडान गरिएको हो । नुवाकोटको उच्च भूभागमा रहेको सूर्यचौर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उक्त स्थानबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, रसुवाको मनोरम दृश्यका साथै लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।
शिवपुरी गाउँपालिका–७ मा अवस्थित सूर्यचौर समुद्र सतहबाट १ हजार ९ सय मिटर उचाइमा छ । नेपाल प्याराग्लाइडिङ कम्पनीले दुईवटा प्याराग्लाइडिङ उडाएर परीक्षण उडान गरेको हो । सूर्यचौरबाट उडान सुरु गरेर शिवपुरी गाउँपालिका– ८ थानापतिको सतरी फाँटमा झारिएको थियो ।
प्याराग्लाइडिङको व्यावसायिक उडानपछि नुवाकोटको पर्यटन क्षेत्रले फड्को मार्नुको साथै स्थानीयको रोजगारीको अवसरसमेत सिर्जना हुनेछ । प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि कम्पनीका प्रबन्ध निर्देशक ज्ञानभक्त डंगोलले केही समयमै यसको नियमित उडान गरिने जानकारी दिएका छन् ।