साप्ताहिक संवाददाता
सहारा क्लबले पोखरामा आयोजना गरेको १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै थ्रीस्टारले उपाधि हात पारेको हो । गतवर्ष उपविजेता भएको थ्रीस्टारले योसँगै आहा रारामा पाँचौं पटक उपाधि जितेको छ । चौथो पटक फाइनलमा पुगेको त्रिभुवन आर्मी क्लब भने फेरि एक पटक अभागी सावित भयो ।
खेलको ५ औं मिनेटमै आर्मीले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा चौथो पटक फाइनल पुगेर पनि उपाधि चुम्ने उसको सपना अधुरै रह्यो । आर्मी सातौं, आठौं र चौधौं संस्करणमा समेत फाइनलमा पुगेको थियो । थ्रीस्टारले पाचौं, नवौं, एघारौं तथा तेह्रौं संस्करणको आहा–रारा गोल्डकपको उपाधि जितेको थियो । थ्रीस्टार स्रौह्रौं संस्करणको उपविजेता समेत हो ।
सडनडेथमा थ्रीस्टारका मिक्छेन तामाङको पेनाल्टी प्रहार निर्णायक बन्न पुग्यो । आर्मीका विकास खवासको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए ।
फाइनलमा म्यान अफ दि म्याच थ्रीस्टारका एलन न्यौपाने घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडीका साथै उत्कृष्ट गोलकीपरको पुरस्कार प्राप्त गरे । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रतियोगिता अवधिभर तीन गोल गरेका थ्रीस्टारका अनिल गुरुङले जिते । आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्स, सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, नवयुग श्रेष्ठ उत्कृष्ट स्ट्राइकर तथा थ्रीस्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । अनुशासित टिमको पुरस्कार एपीएफले हात पार्यो । फागुन ९ गते प्रारम्भ भएको यो प्रतियोगितामा १० वटा टिमको सहभागिता थियो ।