साप्ताहिक संवाददाता
१२ वर्षीय बालगायक आयुष केसी तथा सोही उमेरका प्रितम आचार्य यतिबेला भारतीय टेलिभिजन दर्शकहरूमाझ चर्चामा छन् । सानैदेखि गीत गाउन रुचाउने केसी तथा आचार्य यतिबेला भारतीय च्यानल जीटिभीको गायनमा आधारित रियालिटी शो सारेगमपा लिटिल च्याम्पसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा उनीहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मात्र होइन, निर्णायकहरूलाई समेत प्रभावित तुल्याइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा केसी भक्तपुरमा बसोबास गर्छन् । उनी भक्तपुरकै मोर्डन बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । प्रितम भने इटहरीका बासिन्दा हुन्, उनी पनि कक्षा ७ मै अध्ययनरत छन् ।
सारेगमपामा आयुष र प्रितमले दिएका प्रस्तुति अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । उनीहरू प्रतियोगिताको उत्कृष्ट १५ मा रहन सफल भैसकेका छन् । उत्कृष्ट १५ बाट अघिल्लो चरणमा प्रवेश गर्ने प्रतिस्पर्धामा दुवैले गत साता उत्कृष्ट प्रस्तुति दिएका थिए । त्यसक्रममा प्रितमले हिन्दी चलचित्र नमक हलालको पग घुँगरु...गाएका थिए । उनको प्रस्तुतिलाई ग्रान्ड जुरीले १ सय प्रतिशत अंक दिएपछि त्यो प्रस्तुति चार्ट बस्टरसमेत बन्न सफल भयो । मेन्टर शान, अरमान मल्लिक तथा ऋचा शर्माले उनको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । ग्रान्ड जुरीले स्टेजमै आएर प्रितमलाई काँधमा उचालेका थिए ।
आयुष दुई वर्षअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए । आयुषले सुरशाला म्युजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसँग संगीतको प्रशिक्षण लिइरहेका छन् । आयुषले पनि गत साता शतप्रतिशत अंक ल्याउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए ।
प्रितमले भने उत्कृष्ट १५ मा प्रवेश गर्ने क्रममा गाएको ‘सन्देशा आते है...’ गीतलाई बलिउडकर्मीहरूले समेत ट्विटरमार्फत प्रशंसा गरेका छन् । अभिनेता सुनिल सेट्टी, रितेश देशमुख आदिले उनको गायकीको प्रशंसा गरेका हुन् । सारेगमपा लिटिल च्याम्पमा अब लगातारको चार हप्ताको प्रस्तुतिको अंक जोडेर अघिल्लो चरणका लागि उत्कृष्ट १३ को छनौट हुने बताइएको छ ।