साप्ताहिक संवाददाता
सोझो नेपालीले नेपालमा कमाएको पैसा केमा खर्च गर्ला ? खान–लाउन नै नपुग्ने मजस्ता करोडौं मानिस छन् नेपालमा, उनीहरूको इमानको आम्दानी कति होला ?
शुभ श्रेष्ठ
पढाइको कुरा गर्दा स्नातक तर आम्दानी शून्य छ अनि आम्दानी कहाँ प्रयोग भैरहेको छ भन्नु ? बरु आम्दानीको स्रोतको खोजीमै घाटा बजेटमा जिन्दगी चलिरहेको छ ।
रत्न
चाहेर पनि सदुपयोग गर्न नसक्ने परिस्थितिमा छौं हामी ।
सिमरन अधिकारी
सदुपयोग भन्नु कि दुरुपयोग भन्नु, नेपालमा जागिर गरेर कमाएको पैसाले दुई छाक खान, भाडाको घरमा बस्न, हतार हुँदा माइक्रो चढ्न र चाडपर्वमा एकसरो लुगा फेर्न पुगिरा’छ ।
सागर उदासी
दाल–चामलमै सकिन्छ । साप्ताहिक किन्न पनि पुग्दैन ।
हेमन्त
पहिले जन्म दिने आमा–बुबाको इच्छामा, त्यसपछि जीवनसाथी र आफ्नो लक्ष्यलाई सार्थक र परिणाममुखी बनाउन सदुपयोग गर्दै आएको छु ।
राज सुवेदी
घर–व्यवहार, आफ्नो पढाइ र केही प्रतिशत सामाजिक काममा दिने गरेको छु ।
महेश थापा
पढाइको सदुपयोग नभएको अवस्थामा पैसाका बारेमा कसरी सोच्न सकिन्छ ?
मनीषा दाहाल
के गर्नु, हजुर आफू त ०७२ सालको भूकम्पपीडित । आजसम्म कमाएको सबै आम्दानी भूकम्प प्रतिरोधात्मक घर निर्माणमा लगानी गरें, तैपनि घर पूरा हुन सकेको छैन ।
जानुका अधिकारी
केमा सदुपयोग गर्नु छ र हजुर ? गाँस, बास र कपासमै ठिक्क छ । परदेशमा कमाएको पैसा गाउँघरको चर्को ब्याज, बिरामी बुवा–आमा अनि विद्यालय जाने छोरा–छोरीमा खर्च गर्दैमा ठिक्क छ । श्रीमतीले जन्म घर छोडेर आएदेखि एउटा गतिलो सारी फेर्न पाएकी छैनन् ।
गणेश अविरल
नारायणहिटी किनियो, सिंहदरबार बैना गरेको छु । आफ्नो एउटा हवाईजहाज कम्पनी छ । पानीजहाज र रेलकम्पनी पनि खोल्दैछु । अब तयार भएर टुँडिखेलमा स्थापित कृषि फार्मको उद्घाटनमा जान्छु भन्दैथें, मर्न नसकेको काले भुकेर ब्युँझिएँ नि ।
ध्रुव पाण्डे
दुई छाक दाल–भात, सातामा एकपटक खसीको मासु, दिउँसो खाजाका रूपमा धेरैजसो चिया पाउरोटी र बिस्कुट, कहिलेकाहीँ चाउमिन र बफ मःम अनि महिनामा एकपटक छोरीको स्कुल फी, बूढीलाई दुई जोर, छोरीलाई एकजोर कपडा, मलाई मोजा, आमालाई दुई बट्टा चौतारी चुरोट अनि रत्नपार्कको माग्नेलाई २५ रुपैयाँ ।
सन्तोष सिम्खडा
हुन त नेपालीको तलब र खर्चबीच ठूलो भिन्नता छ । यद्यपि म आफ्नो कमाइको केही भाग सहयोग–दान गर्छु । केही रकम ऊर्जाशील कार्य तथा उत्पादनमूलक कुरामा प्रयोग गर्छु तर कमाइ नै त्यति छैन जति काठमाडौंमा महँगीले ढाड सेक्छ ।
दीपेन्द्र मल्ल
खानामा, कोठा भाडा तिर्दा, लत्ताकपडा किन्दा, माइक्रोको भाडा, केही पढाइमा धेरैजसो हिस्सा खर्च हुन्छ । सडकपेटीदेखि कम्मरको पेटीसम्ममा खर्च छ हजुर ।
रामसिंह रेग्मी
अहिले त कमाइ नै के छ र ? आफ्नै दैनिकी गुजार्नसमेत मुस्किल भैरा’छ । ती सपना, योजना भने अझै मरिसक्या छैनन् । था’ छैन त्यो दिन कहिले आउँछ ? एक दिन आफ्नो आम्दानीको २५ प्रतिशत रकम असहाय, अनाथ र विपन्न समुदायका बालबालिकाको शिक्षादीक्षामा लगाउने सोच भने छ ।
जेबी गजल
यो बेरोजगारको शब्दकोषमा कमाइ र आम्दानी भन्ने शब्द नभेटिएको जानकारी गराउन चाहन्छु— धन्यवाद ।
अशोक सुस्केरा
यो देशमा कमाउनका लागि कि नेता हुनुपर्छ कि उपयुक्त ठाउँको सरकारी जागिरे, अन्यथा स्नातक सकेपछि निजी स्कुलमा शिक्षक कि सहकारीको बजार प्रतिनिधि । अब तिनको तलब त थाहा छ नि ?
लक्ष्मी घोरासनी
कोरिया आएको लगभग दुई वर्ष हुन लाग्यो । महिनाको डेढ–दुई लाख कमाउँछु । तैपनि चित्त बुझेको छैन । आधीभन्दा धेरै त घर खर्च मै सकिन्छ अनि आफ्नो मेहनत र कोरियाको दुःख देखेर कहिलेकाहीँ मन खिन्न पनि हुन्छ । फर्किएर आफ्नै देशमा एउटा आधुनिक कृषि फर्ममा लगानी गर्ने योजनामा छु ।
अर्जुन जोशी
हाइड्रोपावर कम्पनीहरूको आइपीओ किन्दैछु, तर हरेक पटक १ सय रुपैयाँमा किनेको सेयरको बजार मूल्य त्योभन्दा तल झर्दा निराश पनि छु ।
वागमान कुलुङ